‘ऋण उठाउने नाममा उद्यमशीलता मार्नु हुँदैन’, बैंकर कपिल ढकालको विचार « Arthapath.com
२० असार २०८२, शुक्रबार

‘ऋण उठाउने नाममा उद्यमशीलता मार्नु हुँदैन’, बैंकर कपिल ढकालको विचार



नेपालको बैंकिङ क्षेत्र हाल पुनः सन्तुलनको खोजीमा छ । कोभिडपछिको आर्थिक मन्दी, ऋण फर्स्योटको चुनौती, लगानीको अनिश्चितता र समष्टिगत मागमा आएको कमीले बैंक तथा वित्तीय संस्थाहरूलाई सतर्क बनाएको छ ।

यस्तै बैंकको ऋण प्रवाह, नाफा, जोखिम व्यवस्थापन र ग्राहक छनोटमा नयाँ सोच र संरचना आवश्यक भएको छ। अब बैंकहरूले ऋण प्रवाहमा केवल ब्याज र धितो होइन, ग्राहकको उद्देश्य, अनुशासन र व्यावसायिक व्यवहारलाई केन्द्रमा राख्नुपर्छ। वास्तवमा यिनै तत्त्वहरू दीर्घकालीन वित्तीय स्थायित्वका आधार हुन्।

सङ्कटका समयमा लगानी नगर्ने सोच नै पछिल्लो समय विकास अवरुद्ध हुनुको कारण हो। कोभिडपछि केही बैंकहरूले नयाँ लगानी नगरी पुराना ऋण मात्र फर्स्योटमा ध्यान दिए। परिणामतः उनीहरूको वित्तीय विवरण तुलनात्मक रूपले सफा देखिएको छ।

अहिलेको समयमा नयाँ कर्जा दिनु जोखिमपूर्ण मानिन्छ, तर यसलाई पूर्णतः टार्न पनि मिल्दैन। बजारमा माग छैन, त्यसैले ऋण दिँदा जोखिम हुन्छ भन्ने आम बुझाइ छ । तर यस्तो मात्रै सोच राखेर अर्थतन्त्र अहिलेको स्थिर हालतबाट अघि बढ्न सक्दैन ।

ज्योति विकास बैंकले भने विपरीत रणनीति अख्तियार गर्दै कोभिडपछिको अवस्थामा पनि क्रमशः कर्जा प्रवाहमा ध्यान केन्द्रित गर्दै आएको छ। हामीले कहिल्यै गैर–औद्योगिक क्षेत्रमा ऋण नदिने नीति राखेका छौँ ।

बैंकले लगानी गरेको कर्जा कहाँ प्रयोग भयो भन्ने निगरानी राख्न चार जना चार्टर्ड एकाउन्टेन्ट राखेका छौँ, जसले प्रत्यक्ष खाताको गतिविधि राम्रोसँग नियालेर हेर्छन्।

विगतमा उत्पादनमूलक कर्जाको नाममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको धेरैजसो पैसा घरजग्गामा लगानी भएको थियो । धितोको रूपमा जग्गा राखेर लिएको पैसा पुनः जग्गा खरिदमै जानु दीर्घकालीन पुँजी निर्माणको निम्ति प्रतिकूल मार्ग हो।

यस्तो लगानीले दिगो आर्थिक वृद्धिको आधार तयार गर्न सकेन, न त अतिरिक्त रोजगारी नै सिर्जना ग¥यो । फलस्वरूप आम मानिसहरूको हातमा खर्चयोग्य पैसा निरन्तर आउन सकेन । त्यसैले सिङ्गो अर्थतन्त्र नै समस्यामा धकेलियो ।

यस परिप्रेक्ष्यबाट पाठ सिक्दै बैंकहरूले अबको ऋण प्रवाह स्पष्ट उद्देश्यसहित व्यावसायिक प्रयोगमा जानुपर्ने देखिन्छ।

कसरी गर्ने ऋणीको छनोट ?

अहिले बैंकले त्यस्ता ऋणीलाई प्राथमिकता दिनुपर्छ, जसले कोभिडको समयमा पनि कर्जा नबढाई नियमित ऋण तिर्दै आएका थिए । यिनलाई ‘कर्जा सूचना प्रणाली (सीआईएस)’बाट विश्लेषण गरिन्छ र सुधारिएको क्रेडिट प्रोफाइल भएका व्यावसायिक ग्राहकहरूलाई मात्र ऋण प्रवाह गरिन्छ।

कर्जाको मागबारे कुरा गर्दा अहिले सबभन्दा आकर्षक क्षेत्र जलविद्युत् हो । आजको दिनमा कसैले ‘आँखा चिम्लेर’ लगानी गर्ने हो भने त्यो हाइड्रोपावर नै हो ।

यससँगै कर्पोरेट समूहहरूले पनि नयाँ परियोजनाहरू अघि बढाइरहेका छन्, जसमा होटेल, सिमेन्ट, हाउजिङ तथा उपभोग्य वस्तु उत्पादनजस्ता क्षेत्र छन्। यिनै क्षेत्रहरूमा सावधानीका साथ लगानी गर्न सकिन्छ ।

जग्गाको मूल्य वृद्धिलाई लगानीको स्रोत बनाउनुको साटो पुनः जग्गामै लगानी गर्ने प्रवृत्तिले बैंकिङ प्रणालीलाई अस्थिर बनाएको छ । धितो राखेर लिएको पैसा पुनः जग्गामा लगानी गर्दा पुँजी निर्माण हुँदैन, उल्टो डुब्ने सम्भावना हुन्छ । हामीले कर्जाका लागि ग्राहकको चरित्र हेर्छौँ, यदि उसले दिएको उद्देश्यभन्दा बाहिर पैसा प्रयोग गर्छ भने तुरुन्त रोक्छौँ।

ज्योतिमा के भइरहेको छ ?

ज्योति विकास बैंकले पछिल्लो एक महिनामा मात्रै करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह बढाएको छ। अझै कर्पोरेट ग्राहकहरूको धेरै परियोजना आउने क्रममै (पाइप लाइनमा) छन्, ती सुरु भइसकेका छन् ।

तर बैंकले आक्रामक कर्जा विस्तार रणनीति लिएको भने होइन। विगतका वर्षमा कर्जा वृद्धि दरमा सबैभन्दा कम गिरावट हाम्रो बैंकमा भएको छ। हामीले चैतसम्म रिभरकीमै ध्यान दियौँ, त्यसपछि मात्रै पुनः प्रवाह गर्न थालेका हौँ ।

उद्यमशीलता जोगाउने चुनौती

धेरै बैंकहरु कर्जा असुलीमा केन्द्रित देखिए पनि असुलीको अवस्था सन्तोषजनक छैन । औसत अवस्था मान्न सकिन्छ । बरु कानुनी अड्चन भोग्नबाट बच्ने र आफ्नो बैंकको वित्तीय स्वास्थ्य सुन्दर देखाउने दाउमा जबरजस्ती असुलीमा सारा शक्ति लगाउँदा त्यसले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्ने हाम्रो बुझाइ छ ।

यसरी औपचारिक रूपमा मात्र हेरेर उद्यमशीलतालाई मार्ने काम गर्नु उचित होइन । कर्जा असुली नहुँदैमा बैंकले उद्यमशितालाई मार्नु हुँदैन । उद्यमशितला मर्दा अर्थतन्त्र मात्र नभएर बैंक आफैँ पनि कमजोर बन्छ ।

नेपालजस्तो देशमा, जहाँ उद्यमशीलता नै समृद्धिको आधार हो, त्यस्ता प्रयासलाई जीवित राख्ने बैंक नै दीर्घकालीन अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ।

विगत ३० वर्षमा नेपालमा बिस्तारै विकास भएको लघु, साना र मझौला उद्योगहरूको संरचना आज सङ्कटको स्थितिमा छ। यस्तो अवस्थामा ऋण तिर्न नसकेको भन्दै ती व्यवसायलाई समाप्त गर्ने मानसिकता स्वयं बैंकिङ प्रणालीको कमजोरी हो। बैंकले आवश्यक लचकता, संयम र पुनर्संरचनाको योजना बिना उद्यमशीलता ध्वस्त पार्न थाल्यो भने त्यो वित्तीय नेतृत्वको पतन हुने छ ।

संयमित विस्तारको रणनीति

अहिले हाम्रो बैंकले बजारको अवस्था हेरेर कर्जा प्रवाह बढाउने वा घटाउने लचिलो रणनीति लिएको छ। हामीले साउनदेखि ऋण प्रवाह गर्ने लक्ष्य लिएका छौँ । यदि परिस्थिति सकारात्मक रह्यो भने त्यसलाई बढाउँदै लैजाने सोच छ, नत्र स्थिर राख्नेछौँ।

सङ्कटको समयमा संयमपूर्वक काम गर्नु पर्ने हुन्छ । बैंकले न त अत्यधिक आक्रामक नीति लिनुपर्छ, न अत्यधिक सङ्कुचित । हामी अहिले ऋण प्रवाह र असुलीबिच सन्तुलन कायम गरेर अगाडी बढिरहेका छौँ ।

नेपालको बैंकिङ प्रणालीमा थुप्रै समस्या छन्, लगानी योग्य क्षेत्रको अभाव, अस्थिर बजार विश्वास, गैर उत्पादक ऋण, र पुनर्कर्जाको दुरुपयोग । तर सही रणनीति, ग्राहक छनोट एवम् प्रभावकारी निगरानी प्रणालीले यी चुनौती पार गर्न सकिन्छ भन्ने लाग्छ ।

कर्जा प्रक्रियामा एआई प्रयोग

बैंकिङ क्षेत्रमा अब चुनौती भनेको केवल ऋण दिनु होइन, त्यो ऋण सही ठाउँमा, सही समयमा, सही उद्देश्यमा प्रयोग भयो कि भएन भन्ने सुनिश्चित गर्नु हो।

ज्योति विकास बैंकले हालैदेखि कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमार्फत कर्जा प्रवाह (लोन प्रोसेसिङ) गर्न सुरु गरेको छ । यसले कर्जाको जोखिम मूल्याङ्कनदेखि निर्णयसम्मको प्रक्रियालाई स्वचालित, छरितो र पारदर्शी बनाएको छ। ज्योति विकास बैंकले हालैदेखि कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमार्फत कर्जा प्रवाह (लोन प्रोसेसिङ) गर्न सुरु गरेको छ । हामीले एआईमा प्रोडक्ट पेपर राखेर प्रोसेसिङ गरेका छौं ।

एआई प्रणालीले ग्राहकको वित्तीय इतिहास, क्रेडिट प्रोफाइल, व्यवहार आदिका आधारमा विश्लेषण गर्छ, जसले गर्दा लोन निर्णयमा अधिक पारदर्शिता र व्यावसायिकता आएको छ ।

अब हाम्रो वित्तीय प्रणालीका अन्य संस्थाहरूले पनि यस किसिमका उन्नत विधिहरूलाई आफ्नो संस्थागत इफिसियन्सी बढाउन तथा राष्ट्रिय आवश्यकताको परिपूरण गर्नमा उपयोग गर्न सक्छन् ।

फेरिँदो परिस्थिति र बदलिँदो प्रविधिलाई हामीले तादात्म्य मिलाइदिन सक्यौँ भने यस्ता चुनौतीहरूसँग सजिलै जुध्न र जित्न अवश्य सकिन्छ ।

(ढकाल ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्)


प्रतिक्रिया दिनुहोस्