नेपाल आउने भारतिय नागरिकले ५ हजार अमेरिकी डलर बोक्न पाउने « Arthapath.com
२० असार २०८२, शुक्रबार

नेपाल आउने भारतिय नागरिकले ५ हजार अमेरिकी डलर बोक्न पाउने



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिहरूले अब सहज रूपमा पाँच हजार अमेरिकी डलरसम्मको रकम ल्याउन सक्ने जानकारी दिएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले भन्सारमा घोषणा नगरीकन पाँच हजार अमेरिकी डलर बराबरको रकम भारतबाट ल्याउन सकिने प्रावधान रहेको स्पष्ट पारे।

उनले यदि व्यक्ति थप रकम नेपाल ल्याउन चाहन्छ भने, त्यसका लागि भन्सारमा विधिवत घोषणा गरी अधिकतम ६ लाख भारतीय रुपैयाँसम्म ल्याउन सकिने व्यवस्था गरिएको बताए।

पौडेलका अनुसार, यस्तो व्यवस्था पर्यटन, स्वास्थ्य र आपत्कालीन प्रयोजनका लागि नेपाल आउने व्यक्तिहरूका लागि सहजताको हिसाबले गरिएको हो।

अर्थमन्त्री पौडेलले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको सुविधाका लागि नेपालमा डिजिटल भुक्तानी प्रणाली (क्युआर र कार्ड) प्रयोगलाई समेत सुविधा प्रदान गरिएको बताए। क्युआर वा कार्डबाट निश्चित सीमाभित्रको भुक्तानी गर्न सकिने व्यवस्था रहेको उनकाे भनाइ छ।

यस्तै भन्सार नाकाबाट सवारीसाधन प्रवेश गरेपछि देशभित्र बारम्बार चेकजाँच नहुने गरी सहजीकरण गरिएको समेत उनले बताए।


प्रतिक्रिया दिनुहोस्