१० वर्षे ऋणपत्र निष्काशन गर्दै एसबीआई बैंक, सर्वसाधारणका लागि १२ लाख कित्ता खुला गरिने

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले आगामी असार ३० गतेदेखि ऋणपत्र सार्वजनिक रूपमा बिक्री गर्न लागेको छ। १० वर्ष अवधि हुने यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गर्न लागेकाे हो।
बैंकले प्रतिकित्ता १,००० अंकित दरमा कुल ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। यसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र निजी तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइएको भागमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
ऋणपत्रमा न्यूनतम २५ कित्ताबाट आवेदन दिन सकिनेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिनेछ। आवेदन अवधि छिटोमा साउन १ गते समाप्त हुनेछ भने ढिलोमा साउन १२ गतेसम्म खुला रहनेछ।
यस निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।