बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ असार २९ गतेदेखि निष्काशन हुने

काठमाडाैं । बुङ्गल हाइड्रो लिमिटेडले आगामी असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ।
कम्पनीले आफ्नो ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ।
यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ८ करोड ३० लाख रुपैयाँ बराबरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर बिक्री खुला गरिनेछ।
आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत भाग अति प्रभावित क्षेत्रका बासिन्दाहरू बझाङ जिल्ला बुङ्गल नगरपालिका वडा नम्बर ६ (साविक पिपलकोट गा.वि.स वडा नम्बर ४, ५, ७) र वडा नम्बर ७ (साविक कफल्सेरी गा।वि।स। वडा नम्बर १०) मा बाँडफाँट गरिनेछ।
बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका बुङ्गल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाहरूका लागि हुनेछ।
त्यस्तै, विदेशमा श्रम स्वीकृति लिएर रोजगारी गरिरहेका नेपालीहरूका लागि २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरका २ लाख ७ हजार ५०० कित्ता शेयर छुट्याइएको छ, जसको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ हुनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका लागि शेयर निष्काशन साउन ११ गते छिटोमा बन्द हुनेछ भने ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ। विदेशमा रहेका नेपालीहरूका लागि भने आवेदन अवधि साउन ११ गतेसम्म सीमित हुनेछ।