छुट्ला है विकाश हाइड्रोपावरको आईपीओ, आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । विकास हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिन आज असार २२ गते अन्तिम दिन हो।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ खुला गरिएको हो।
कम्पनीले ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ बराबरको जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति पाएको हो।
यसमा कम्पनीले आयोजनाबाट प्रभावित स्थानियहरूका लागि ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कर्मचारीका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर छुट्याइएको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।