शिक्षा विधेयकमा सहमति जुटेन, सरकारले पाँच दिनको थप समय पायो

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज आइतबार पारित गर्ने भनिएको शिक्षा विधेयकका लागि सरकारले थप पाँच दिनको समय पाएको छ।
शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा थप छलफल र सहमतिको आवश्यकता रहेको भन्दै समय माग गरेपछि समितिले ५ दिनको समय दिने निर्णय गरेको हो। समितिका सभापति अम्मरबहादुर थापाले बैठकका सदस्यहरूलाई आजै विधेयक पारित गर्ने तयारीका लागि सूचना दिएर बैठक बोलाएका थिए।
तर छलफलको क्रममा सहमति नजुटेपछि मन्त्री पन्तलाई पाँच दिनभित्र सहमति गरेर आउन निर्देशन दिँदै थापाले भने, “त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ।”
समितिका धेरैजसो सांसद सदस्यहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए। तर, अझै केही मुख्य विषयमा सहमति कायम हुन नसकेको कारण प्रक्रिया अघि बढ्न सकेन।
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो।
अस्थायी शिक्षक, प्रारम्भिक बालविकास ९ईसीडी० शिक्षक लगायतका विषयहरूमा सहमति जुट्न नसकेको समितिको भनाइ छ। यस्तै, नेपाल शिक्षक महासंघले सरकारले यसअघिको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिइरहेको छ।
अब शिक्षामन्त्रीले प्रस्तावमा आवश्यक सहमति जुटाएर आगामी पाँच दिनभित्र पुनः बैठकमा प्रस्तुत गर्नु पर्नेछ।