विद्युतीय सवारीमा सेलिब्रेटीहरुको आकर्षण, केकीले किनेकाे प्रोटोन ई.मास ७ कस्ताे गाडी हाे ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री केकी अधिकारीले विद्युतीय सवारीप्रतिको रुचि झल्काउने गरी ई.मास ७ नामक आधुनिक इभी (इलेक्ट्रिक भेहिकल) गाडी खरिद गरेकी छिन्।
थापाथलीस्थित प्रोटोन शोरुमको उद्घाटन समारोहमा सहभागी भएकी केकीले सोही अवसरमा करिब ५७ लाख रुपैयाँ मूल्य पर्ने ‘प्राइम भेरिएन्ट’ खरिद गरेकी हुन्।
उक्त कार्यक्रममा संगीतकर्मी विजेश श्रेष्ठले भने ६८ लाख रुपैयाँ पर्ने ‘प्रिमियम भेरिएन्ट’ किनेका छन्।

ई.मास ७ एक अत्याधुनिक सुविधासम्पन्न इलेक्ट्रिक एसयुभी हो, जसले एकपटक चार्ज गर्दा करिब ५०० किलोमिटर दूरी तय गर्न सक्छ। यसमा ७० किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री, करिब २१५ हर्सपावर उत्पादन गर्ने मोटर, स्मार्ट टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ड्राइभिङ क्लस्टर, प्यानोरामिक सनरूफ, मल्टिपल एयरब्याग, ३६० डिग्री क्यामेरा, अटो क्लाइमेट कन्ट्रोल, हिल होल्ड लगायतका अत्याधुनिक फिचर छन्।
अत्याकर्षक डिजाइन र वातावरणमैत्री प्रविधियुक्त यो गाडीले नेपाली बजारमा नयाँ आयाम थपेको छ। अभिनेत्री केकी अधिकारीको विद्युतीय सवारीप्रतिको रोजाइले सेलिब्रेटीहरू पनि अब दिगो र हरित यातायातप्रति आकर्षित भइरहेका छन् भन्ने संकेत दिएको छ। ई.मास ७ अहिले काठमाडौंस्थित प्रोटोन शोरुममा उपलब्ध रहेको र कम्पनीले छिट्टै अन्य प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिइएको छ।