डेढ अर्बको एफपिओ निष्कासन गर्दै हिमालयन बैंक, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले डेढ अर्ब रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्ने भएको छ ।
बैंकले आउँदो असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्न लागेको हो ।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । त्यसमा ७२.९९ प्रतिशत संस्थापक समूह र २७.०१ प्रतिशत सर्वसाधारणको हिस्सा छ ।
अब सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो ।
एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन आगामी साउन ४ गते र ढिलोमा साउन १४ गतेसम्म दिन लागिने छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम नै बैंकले एफपीओ जारी गर्न लागेको हो ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।