रसुवामा भीषण बाढी : २३० मेगावाट बराबरका जलविद्युत् आयोजना ठप्प

काठमाडौं । रसुवामा आएको बाढीका कारण २३० मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजना सञ्चालनमा आउन सकेका छैनन् ।
प्रभावित आयोजनामध्ये सबैभन्दा ठूलो १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएको छ ।
यससँगै ६० मेगावाटको त्रिशूली–३ ए, २२ मेगावाटको चिलिमे, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको बेनीघाट जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् । बाढीले ती आयोजनासँग सम्बन्धित प्रसारण लाइनसमेत अवरुद्ध बनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढीको हेडबक्सको गेट बगाएको छ । आयोजनाको पुलमा समेत क्षति पुगेको छ । पुल चर्किएपछि आवतजावत बन्द भएको छ । तर, पावरहाउस सुरक्षित रहेको प्राधिकरणल जनाएको छ ।
अहिले त्रिशूली नदी आसपासका सबै आयोजना अहिले बन्द छन् । देवीघाटस्थित त्रिशूली आयोजना चाँडै सञ्चालनमा आउने सम्भावना छ भने चिलिमे पनि लेदो हटाएपछि सञ्चालनमा ल्याउन सकिनेछ । रसुवागढी र त्रिशूली–३ ए लाई भने पुनः सञ्चालनमा ल्याउन केही दिन लाग्ने अनुमान गरिएको छ ।
त्रिशूली–३ ए आयोजनाको एउटा गेट बगाएको र भवनमा बाढी पसेको प्राधिकरणले जनाएको छ । क्षतिको यथार्थ मूल्यांकन भने बाढी घटेपछि मात्र गर्न सकिने प्राधिकरणले जनाएको छ ।