रसुवामा बाढी : अटोमोबाइल आयात प्रणालीमा समेत व्यापाक असर

काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।
मुलुकको प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढीमार्फत सञ्चालनमा रहेको अटोमोबाइल आयात प्रणालीमा समेत व्यापाक असर परेको छ ।
प्राकृतिक प्रकोपका कारण रसुवास्थित भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू बगाएको छ । यसले सम्पूर्ण अटोमोबाइल आपूर्ति शृंखलामा तत्काल प्रभाव परेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ ।
नाडाले एक विज्ञप्ति जारी गर्दै पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ । ‘आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौं’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कठिन घडीमा अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको साथमा रहने नाडाले प्रतिबद्धता जनाएको छ । पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता व्यक्त गरेको छ । साथै, आवश्यकता परेमा संघबाट सहयोग उपलब्ध गराउने तयारी रहेको जनाइएको छ ।
नाडाले सबै पक्षलाई संकटको घडीमा एकजुट भई सहयोग र करुणाका साथ अगाडि बढ्न आग्रह समेत गरेको छ ।