सानेपामा डेढ अर्बको क्रिप्टो कारोबार, दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । ललितपुरको सानेपाबाट नेपाल प्रहरीले अवैध क्रिप्टो करेंसी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनीहरूले किराना पसलको आवरणमा डेढ अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टो कारोबार र हुण्डी सञ्चालन गरिरहेका थिए ।
पक्राउ पर्नेमा भारत बिहारका ४३ वर्षीय रुपेश कुमार गुप्ता र २२ वर्षीय बिपिन कुमार रहेका छन् । उनीहरू ललितपुर महानगरपालिका–२ स्थित कालोपुल क्षेत्रबाट पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ८ लाख २० हजार नगद नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ, एक थान सीसीटीभी डिभिआर र कस्तुरी जनावरको अंग जस्तो देखिने संरक्षित वन्यजन्तु सम्बन्धी वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।
अवैध आर्थिक कारोबार र संरक्षित वन्यजन्तु ओसारपसारको आरोपमा उनीहरूमाथि थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।