रसुवामा बाढी र पहिरोः पीडितप्रति महासंघको गहिरो दुःख, तत्काल उद्धार र सहयोगको माग

काठमाडौं । नेपाल–चीन सीमा नजिकै रसुवागढी क्षेत्रमा मंगलबार बिहान आएको भीषण बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।
महासंघले विपदमा परेका व्यक्तिहरूको तत्काल उद्धार, राहत र जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दाहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग आग्रह गरेको छ ।
बाढी र पहिरोका कारण चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीस्थित सुख्खा बन्दरगाहमा ठूलो क्षति पुगेको छ । यस घटनामा विद्युतीय सवारीसाधन (इलेक्ट्रिक गाडी) र मालवाहक कन्टेनरहरू बगाएको बताइएको छ ।
पीडित क्षेत्रमा क्षति विवरण संकलन गर्न पुगेका रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीहरूले महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठलाई भेट गरी तत्काल सहयोग र सरकारी समन्वयका लागि आग्रह गरेका छन् ।
महासंघले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमार्फत चीनतर्फ फसेका नेपालीहरूको उद्धारमा कूटनीतिक पहल गर्न र नेपालतर्फ उद्धार कार्यमा सरकारको प्रभावकारी उपस्थितिको माग गरेको छ ।
वर्षायाममा उच्च जोखिम हुने बाढी र पहिरोबाट जोगिन महासंघले सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न अपिल गरेको छ ।