नेप्से पुनर्संरचनासँगै नयाँ स्टक एक्सचेञ्जलाई पनि लाइसेन्स दिने तयारी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से पुनर्संरचनासँगै नयाँ स्टक एक्सचेञ्जलाई पनि लाइसेन्स दिने तयारी



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचनासँगै नयाँ स्टक एक्सचेञ्जलाई पनि सञ्चालनको अनुमति दिइने स्पष्ट पारेका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अध्यक्ष श्रेष्ठले सरकारको निर्देशनअनुसार दुईवटै प्रक्रिया एकैसाथ अघि बढाउन खोजिएको जानकारी दिए।

श्रेष्ठका अनुसार पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अध्यक्षतामा गठित समितिको प्रतिवेदनलाई आधार मानेर कार्य अघि बढाइने तयारी छ।

सो समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन उपयुक्त समय भइसकेको सुझाव दिएको थियो। अध्यक्ष श्रेष्ठले प्रतिवेदनमा कुनै कानुनी अड्चन नरहेको उल्लेख रहेको जानकारी सांसदहरूलाई दिएका छन्।

यसैबीच, उनले प्रति शेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति दिने कि नदिने भन्ने विषयमा अन्योल रहेको उल्लेख गरे।

उनले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले अनुमति दिन सकिने भनेको भए पनि सार्वजनिक लेखा समितिले विपरीत निर्देशन दिएको कारण अन्योल उत्पन्न भएको बताए।

अध्यक्ष श्रेष्ठका भनाइले नेपाली पूँजी बजारमा दोस्रो स्टक एक्सचेञ्जको सम्भावना प्रस्ट हुन थालेको संकेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्