साउनदेखि श्रमिकको न्यूनतम तलब बढ्यो, अब मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएर मासिक १९ हजार ५५० रुपैयाँ पुर्याएको छ।
सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको सहमतिअनुसार चियाबगान बाहेकका क्षेत्रका श्रमिकका लागि नयाँ पारिश्रमिक साउन १ गतेदेखि लागू भइसकेको छ।
नयाँ पारिश्रमिक संरचनाअनुसार १९ हजार ५५० रुपैयाँमध्ये १२ हजार १७० रुपैयाँ आधारभूत तलब र ७ हजार ३८० रुपैयाँ महँगी भत्ता हुनेछ। यो दर अनुसार श्रमिकको तलब अघिल्लो न्यूनतम तलब १७ हजार ३०० रुपैयाँभन्दा २ हजार २५० रुपैयाँले बढेको हो।
यसअघि प्रतिघण्टाको न्यूनतम तलब ८९ रुपैयाँ थियो, जुन अब बढाएर १०१ रुपैयाँ पुर्याइएको छ। यसमध्ये ६३ रुपैयाँ आधारभूत र ३८ रुपैयाँ महँगी भत्ता तोकिएको छ।
दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक पनि समायोजन गरिएको छ। अब न्यूनतम दैनिक ज्याला ७५४ रुपैयाँ हुनेछ, जसमा ४७० रुपैयाँ आधारभूत र २८४ रुपैयाँ महँगी भत्ता समावेश छ।
नयाँ दरअनुसार प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ कायम गरिएको छ भने आंशिक समय काम गर्ने श्रमिकको हकमा प्रतिघण्टा १०७ रुपैयाँ न्यूनतम पारिश्रमिक हुनेछ।
यो नयाँ पारिश्रमिक दर चिया बगानका श्रमिकमा भने लागू हुने छैन। उनीहरूको पारिश्रमिक सम्बन्धित पक्षसँग छलफल गरी अलग निर्णय गरिने मन्त्रालयले जनाएको छ।















