पर्वतीय पर्यटनको नयाँ भिजनसहित एनएमए अध्यक्षमा शेर्पाको उम्मेदवारी, के-के छन् प्रमुख एजेण्डा ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पर्वतीय पर्यटनको नयाँ भिजनसहित एनएमए अध्यक्षमा शेर्पाको उम्मेदवारी, के-के छन् प्रमुख एजेण्डा ?



काठमाडौं । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बोकेका पर्वतारोही तथा पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

“पर्वतीय पर्यटनको विकास, संरक्षण र संवर्द्धनको लागि मेरो उम्मेदवारी” भन्ने मूल नारासहित शेर्पाले आफ्नो अभियान सार्वजनिक गरेका हुन्। संघको निर्वाचन भदौ ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।

उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघभित्र रही आफ्नो सदस्यहरूको हकहित, पर्वतीय पेशामा संलग्न श्रमिकहरूको कल्याण, तथा नेपालको पर्वतीय पर्यटनको अन्तर्राष्ट्रिय ब्रान्ड निर्माणमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

तीन दशक लामो यात्राको प्रतिविम्ब

शेर्पा तीन दशकदेखि नेपाल पर्वतारोहण संघमा सक्रिय छन्। सानैदेखि हिमाल चढ्न थालेका उनी आफ्नो अध्ययन–अध्यापन पनि पर्वतीय क्षेत्रसँगै केन्द्रित भएको बताउँछन्। “मैले जीवनको प्रारम्भदेखि नै हिमालसँग माया बाँडेँ, हिमालसँगै हुर्किएँ, अध्ययन गरेँ र करियर पनि त्यही बनाएँ,” शेर्पाले भने।

शेर्पा अनुसार उनले एनएमएको सदस्य भएर झण्डै ३० वर्ष बिताइसकेका छन्। यस अवधिमा उनले संघको कार्यसमिति सदस्य, विदेश विभाग प्रमुख, पर्यटन बोर्ड सदस्य, नेपाल एयरलाइन्सको संचालक समिति सदस्यजस्ता जिम्मेवारी निभाएका छन्।

“ती सबै भूमिकाबाट मैले संगठनात्मक क्षमता, सरकारी संयन्त्रसँग समन्वय गर्ने सीप, र पर्यटन क्षेत्रको समग्र विकासमा नेतृत्व दिने सम्भावना सिकेको छु,” शेर्पाले भने।

केन्द्रीय एजेन्डाः आरोही कल्याणदेखि माउन्टेन एड्भेन्चर युनिभर्सिटीसम्म

शेर्पाको उम्मेदवारीको मुख्य लक्ष्य भनेको आरोही कल्याणको समुचित प्रत्याभूति हो। विगतका आरोहण दुर्घटनाहरूबाट पाठ सिकेर आरोहीहरूको इन्स्योरेन्स, फण्ड व्यवस्थापन, परिवारको सुरक्षा, अनि विषम परिस्थितिमा उद्धार संयन्त्रहरू प्रभावकारी हुनुपर्ने र आफुले पनि यीनै योजनालाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्र्धता जाहेर गरे ।

शेर्पाको अर्को महत्वाकांक्षी योजना भनेको ‘माउन्टेन एड्भेन्चर युनिभर्सिटी’ को स्थापना हो। उनका अनुसार पर्वतीय पर्यटनलाई व्यवस्थित, व्यावसायिक र दीर्घकालीन रोजगारी सिर्जना गर्ने माध्यम बनाउने उद्देश्यले यस्तो विश्वविद्यालयको अवधारणा ल्याइएको हो।

“नेपालको हिमाली क्षेत्र अपार सम्भावनाले भरिएको छ। तर हामीसँग दक्ष जनशक्ति छैन। त्यो अभाव युनिभर्सिटीमार्फत पूरा गरिनेछ,” शेर्पाले भने।

शेर्पाले विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अल्पाइन एड्भेन्चर, क्लाइम्बिङ, रेस्क्यु, इको–टुरिज्म, हेरिटेज ट्रेल विकास जस्ता विषयमा तालिम दिने व्यवस्था गरिने बताए। उनले भने, “हामीले योग्य जनशक्ति उत्पादन गर्न सके, त्यही जनशक्तिले पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउँछ।”

‘आरोही कल्याण परिषद’ र ५० लाखको क्याम्प सुरु गर्ने घोषणा

शेर्पाले निर्वाचनअघि नै स्पष्ट रूपमा केही कार्यक्रम सार्वजनिक गरेका छन्। उम्मेदवार घोषणा गर्दै उनले ‘आरोही कल्याण परिषद’ स्थापना गर्ने बताए। उनले परिषद स्थापना गर्न आफैँबाट २० लाख रुपैयाँको प्रारम्भिक पूँजीको घोषणा गरेका छन्। निकट भविष्यमा ५० लाखको पर्वतारोहण सहायता कोष सञ्चालन गर्ने योजना उनले सुनाए।

शेर्पाले भने, “यो पैसा कुनै चुनावी लोभ होइन। यो मेरो तीन दशकको यात्राबाट सिकेको प्रतिबद्धताको प्रतिबिम्ब हो। त्यो परिषदले दुर्घटनाग्रस्त परिवारहरूलाई आर्थिक सहयोगदेखि मनोसामाजिक पुनःस्थापना सम्मको सेवा दिनेछ।”

गन्तव्यको पुनर्संरचना र अन्तर्राष्ट्रिय ब्रान्डिङ

शेर्पाले गन्तव्य पहिचान र विकासलाई आफ्नो अर्को प्रमुख कार्यभार मानेका छन्। “नेपालमा सयौं हिमाली मार्ग छन् जुन पर्यटकको नजरबाट ओझेलमा छन्। ती मार्गहरूलाई पत्ता लगाएर नयाँ गन्तव्यको विकास गर्नुपर्छ,” उनले भने।

उनले विशेष गरेर छोयु हिमाललाई नेपालबाट आरोहण गर्न सक्ने वातावरण बनाउने बताए, जुन हाल चीनबाट मात्रै आरोहण गर्न मिल्ने स्थिति छ। साथै उनले पोखराको माउन्टेन म्युजियमलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने, आर्टिफिसियल क्लाइम्बिङ पार्क र माउन्टेन थीम पार्कको निर्माण गर्ने योजना पनि प्रस्तुत गरे।

विदेशी आरोहीहरूको घट्दो उपस्थितिलाई सम्बोधन गर्दै शेर्पाले ब्रान्ड नेपालको प्रवर्धन गर्न अन्तर्राष्ट्रिय अल्पाइन क्लबहरू, विदेशी सरकार र पर्वतीय संस्थाहरूसँग सहकार्य बढाउने बताए। “हाम्रो ब्रान्डलाई हामीले नै सम्हाल्नुपर्छ, अर्काले होइन,” उनी भन्छन्।

शेर्पाले आफूले राजनीतिभन्दा माथि उठेर संस्थालाई हेर्ने दृष्टिकोण बोकेको भन्दै जुनसुकै सरकार आए पनि सहकार्य गरेर संस्था र राष्ट्रको हितका लागि सधैं काम गर्न सक्ने क्ष्मता आफुमा भएको स्पष्ट पारेका छन् ।

आफुले उठाएका एजेन्डाहरू पर्वतीय पर्यटन विश्वविद्यालय, आरोही सहायता परिषद, नयाँ गन्तव्यको विकास र अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, संघको पुनर्संरचना पर्वतीय पर्यटनको दीर्घकालीन समृद्धिको मार्गचित्र बन्न सक्नेप्रति उनले दृढ विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्