सेयर बजारमा करेक्शन, दुई दिनको उकालो यात्रामा ब्रेक
काठमाडौं । सेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ । लगातार दुई हरियाली बनेको बजार आज भने दोहोरो अंकले घटेको छ ।
गत सोमबार १९.९७ अंक र मंगलबार १७.८० अंकले बढेको बजार आज भने घटेको छ । साताको चौथो कारोबार दिन बजार २४.९७ अंकले घटेको छ । योसँगै आज बजार परिसूचक २ हजार ७५०.८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
बुधवार हाइड्रोपावर समूह २१.७१ अंक, उत्पादन तथा प्रशोधन १०.०१, माइक्रोफाइनान्स ६.२१ अंकले वृद्धि भएका छन् । यी बाहेकका बैंकिङ, विकास बैंक, फाइनान्स लगायतका समूहरु भने राताम्य बनेका छन् ।
बजारमा गिरावट देखिएता पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । हिजो ८ अर्ब हाराहारीमा समिति रहेको कारोबार आज पनि ९ अर्ब माथि पुगेको छ । उक्त दिन ९ अर्ब १३ करोड २४ लाख ६८ करोड रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा सर्वाधिक हिस्सा जोशी हाइड्रोपावरको देखिएको छ । आज कम्पनीको ३० करोड ३० लाख ६९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर पनि २९ करोड ५६ लाख ४९ हजार रुपैयाँ, आँखु खोला जलविद्युतको २६ करोड ७९ लाख, सानिमा माइको १८ करोड ७६ लाख, रसुवागढी हाइड्रोपावरको १७ करोड ९२ लाख, नेपाल फाइनान्सको १७ करोड ७२ लाख र खानीखोलाको १७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।