एक दिन थपियो निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।
बैंकले गत जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप भएको हो ।
बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८–८९’ को निष्काशन छिटोमा जेठ २२ गते बन्द हुने भएको छ ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द ढिलोमा असार १ गते हुनेछ ।