वायुसेवा निगमको २५ प्रतिशत सेयर बिक्री गरिने « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

वायुसेवा निगमको २५ प्रतिशत सेयर बिक्री गरिने



काठमाडौं । नेपाल वायुसेवा निगमको ३७ करोड रुपैयाँ चुक्ता पुँजी बढाएर २० अर्ब पुर्याउने निर्णय सञ्चालक समितिले गरेको छ । निगमलाइ निजीकरण गर्नका लागि २५ प्रतिशत सेयर सर्वसाधारणलाइ बिक्री गर्ने भएको छ । ४० अर्ब ऋणको भारले थिचिएको निगम निजीकरणपछि व्यावसायिकरूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

नेपाल वायुसेवा निगमको निजीकरण गर्न २५ प्रतिशत सेयर बिक्री गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । समितिका अध्यक्ष केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिहीबार सेयर बिक्री गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको निर्णयअनुसार निजीकरणपछि पनि निगममा ७५ प्रतिशत सेयर सरकारकै हुनेछ ।

२२ प्रतिशत सेयर निजी कम्पनीलाई बिक्री गर्ने र ३ प्रतिशत सेयर निगमका कर्मचारीलाई दिने गरी निर्णय गरेर तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिफारिस गरिएको हो । पर्यटनले निगम–निर्णय अध्ययन गरेर सहमतिका लागि अर्थ मन्त्रालय पठाउनेछ । तर, निगमलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअनुसार अगाडि बढाउने निर्णय भए पनि सेयर सर्वसाधारणका लागि खुला गरिनेछैन ।

निगमको सञ्चालक समितिको निर्णय मात्रले निजीकरण गर्न नसकिने भएपछि त्यसको प्रक्रिया भने सुरु गरेको सञ्चालक समितिका सदस्य अच्युतराज पहाडीले बताए । ‘विगत लामो समयदेखि रोकिएको प्रक्रिया सुरु गरेका छौँ, अब बल सरकारको हातमा पुगेको छ,’ पहाडीले भने । निगम ४० अर्ब रुपैयाँभन्दा बढी ऋणको भारले थिचिएको छ । निगमलाई व्यावसायिकरूपमा सञ्चालन गरी ऋणमुक्त गर्नु तथा नाफामा लैजानु चुनौतीपूर्ण छ ।

अर्थ मन्त्रालयले निजीकरणको सहमति दिएमा पर्यटन मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नै निगम व्यवस्थापन सुधारअन्तर्गत निजीकरण गर्ने प्रस्ताव लैजान सचिव अधिकारीलाई निर्देशन दिएका थिए । सोहीअनुसार निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले सञ्चालक समितिमा प्रस्ताव पेस गरेका थिए । तर, निजीकरण गर्नुअघि निगमको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) गर्नुपर्नेछ । तत्कालीन अध्यक्ष मदन खरेलले डीडीए गर्ने प्रक्रिया अगाडि बढाए पनि हालसम्म हुन सकेको छैन ।

हाल ३७ करोड रुपैयाँमात्रै चुक्ता पुँजी भएको निगमको सेयर बिक्री गरेर चुक्ता पुँजी २० अर्ब पु¥याउने लक्ष्यसमेत राखिएको छ । पर्यटनमन्त्री भट्टराईले पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा गठन गरेको निगम सुधार सुझाव समितिले समेत निगमको निजीकरण गर्नुपर्ने सिफारिस गरेको थियो । घिमिरे नेतृत्वको समितिले निगमको वित्तीय पुनर्संरचना सुधार, व्यवस्थापकीय पुनर्संरचना, संस्थागत पुनर्संरचनालगायत विषयहरू समावेश गरिएको थियो । सेयर बजार


प्रतिक्रिया दिनुहोस्