विश्व सेयर बजार: इतिहासकै ठूलो गिरावट, भारतीय लगानीकर्ताले केही मिनेटमै गुमाए ५० खर्ब « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

विश्व सेयर बजार: इतिहासकै ठूलो गिरावट, भारतीय लगानीकर्ताले केही मिनेटमै गुमाए ५० खर्ब



काठमाडौं । यो साता विश्व सेयर बजारका लागि खराब हप्ता सावित हुन पुग्यो । कोरोना भाइरसको फैलावटले विश्वव्यापी अर्थतन्त्रलाई प्रभावित पार्ने आशंकासँगै विश्व सेयर बजारले गिरावटको सामना गर्नुपरिरहेको छ । विश्व अर्थव्यवस्थामा मन्दीको आशंकासँगै विश्व सेयर बजार साताभरमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावटको अवस्थामा पुगेको हो ।

भाइरसले महामारीको रुप लिएर विश्व मन्दीको कारण बन्ने आशंकासँगै सेयर बजारका लगानीकर्ताहरू जोखिमपूर्ण सम्पत्तितर्फ लगानी गर्न डराइरहेका छन् । जसका कारण विश्व सेयर बजार सन् २००८ यताकै खराब साताको रुपमा बन्न पुगेको हो ।

योभन्दा पहिले सन् २००८ मा वित्तीय संकटको गहिराईका कारण विश्व सेयर बजारले सबैभन्दा ठूलो साप्ताहित गिरावटको सामना गर्नुपरेको थियो ।

बिहीबार एमएससीआई अल कन्ट्री वल्र्ड इन्डेक्स कारोबार समयमा ३.३ प्रतिशतले घटेकोमा ०.५ ले घटेर बन्द भएको थियो । यो साता उक्त इन्डेक्समा ९.३ प्रतिशतको गिरावट देखियो । यो १२ वर्षपछिकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो । नोभेम्बर २००८ मा ९.८ प्रतिशतको गिरावट आएको थियो ।

बिहीबार एसएण्डपी ५०० सूचक ४.४२ प्रतिशतले घट्यो । जुन अगस्ट २०११ पछिकै सबैभन्दा धेरै प्रतिशतको गिरावट हो । फेब्रुअरी १९ मा रेकर्ड कायम गरेर बन्द भएको उक्त सूचक त्यसपछि १२ प्रतिशतले घटेको थियो ।

बिहीबार अमेरिकी डउ जोन्स करिब एक हजार २०० अंक अर्थात् ४.४ प्रतिशतले घटेर इतिहासमै सबैभन्दा धेरै अंकको गिरावटका साथ नयाँ रेकर्ड कायम गर्यो ।

यसैगरी, यस दिन एशिया प्यासिफिक सेयर २.४ प्रतिशतले घट्यो । जापानको निक्केई सूचकमा ओलम्पिकको बढ्दो आंशकासँगै ४.० प्रतिशतले गिरावट देखियो । जुलाई–अगस्टमा हुन गइरहेको ओलम्पिक कारोना भाइरसका कारण हुन नसक्ने वा अन्यत्र सर्न सक्ने आशंका गरिएको छ ।

भाइसरका कारण विश्व अर्थव्यवस्थामा सिर्जित खतराबाट लगानीकर्ताहरू लगानी गर्नतर्फ डराइरहेका बेला उनीहरूलाई लगानीका लागि प्रेरित गर्दै आर्थिक विकासको समर्थनका लागि अमेरिकी फेडरल रिजर्भले व्याजदरमा कटौती गर्न आवश्यक रहेको विश्लेषकहरूले बताएका छन् ।

कोरोना भाइरसको प्रभाव विश्वव्यापीरुपमा अमेरिका–चीन व्यापार यु्द्धको तुलनामा अधिक पर्ने स्पष्ट देखिएको छ ।

कारोना भाइरसले हाल महामारीको रुप लिँदै गइरहेको छ । यसले विश्व सेयर बजारमा ठूलो जोखिम सिर्जना गराउन सक्ने बताइएको छ । तर, कहिलेसम्म र कति समयका लागि भाइरस कायम रहन्छ भन्ने कुराको स्पष्टरुपमा कसैले पनि खुलासा गर्न सकिरहेको छैन ।

यद्यपि, चीनमा देखिएको महामारी भाइरस केही महिनामा नै अन्त्य हुने र विश्व आर्थिक गतिविधि सामान्य हुने अपेक्षा गरिएको छ ।

इतिहासकै ठूलो गिरावट
शुक्रबार विश्व सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन विश्वभरको अधिकांश सेयर बजारमा हाहाकार मच्चिएको छ । कारोना भाइरसको प्रकोप तीव्ररुपमा बढेसँगै विश्व सेयर बजारले ओरालो गति समाएको हो ।

शुक्रबार सबैभन्दा धेरै गिरावटकासाथ अमेरिकी सेयर बजार सबैभन्दा तल्लोस्तरमा पुगेको छ भने अमेरिकी सेयर सूचक डउ जोन्स एक दिनमा हालसम्मकै सबैभन्दा धेरै अर्थात् एक हजार १९१ अंक अर्थात् ४ प्रतिशतले घटेको छ ।

चीन बाहिरका देशहरू दक्षिण कोरिया, इटली र ईरानमा पनि उक्त भाइरसको प्रकोप व्यापक देखिएको छ । योसँगै सेयर बजारका लगानीकर्ताहरू विश्व मन्दीको डरबाट जोखिमको क्षेत्रमा लगानी गर्न डराइरहेका छन् ।

यस दिन एफटीएसई सूचक ३.४९ प्रतिशतले घटेको छ । यसैगरी जापानको निक्केई सूचक ४.०२ प्रतिशत, नास्डाक ४.६१ प्रतिशत, शांघाई कम्पोजिट ३.३७ प्रतिशत र ह्याङसेङ २.१० प्रतिशतले गिरावट देखिएको छ ।

भारतीय लगानीकर्ताले केही मिनेटमै गुमाए ५० खर्ब

कारोबारको मध्यम समयतिर भारतको सेयर बजार परिसूचक सेन्सेक्स एक हजार ४६४.४९ अर्थात् ३.६५ प्रतिशतले घटेर ३८ हजार २८४.८० को बिन्दुमा पुगेको छ भने निफ्टी ४३१.६५ अर्थात् ३.७१ प्रतिशतको गिरावटका साथ ११२०१.६५ को बिन्दुमा पुगेको छ ।

घरेलु सेयर बजारमा भारी गिरावट देखिएको केही समयमा नै भारतीय लगानीकर्ताहरूले करिब ५० खर्ब (५ करोड लाख) भारु गुमाएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्