धितोपत्र बोर्डको स्वायत्तता बढाउनेगरी कानून बनाइने, अलग्गै विशिष्ट ऐनको खाका बन्दै
काठमाडौैं । नेपाल धितोपत्र बोर्डको स्वायत्तता बढाउने गरी अलग्गै ऐन जारी गर्ने तयारी थालिएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अहिले एउटै ऐनले कारोबार सञ्चालन र नियमनलाई निर्देशित गरिरहेका कारण नियामक निकाय कमजोर भएको बताए ।
‘जसरी नेपाल राष्ट्र बैंकको सञ्चालन र नियमन भूमिकाबारे अलग्गै ऐन र बजार सञ्चालन गर्ने अलग्गै ऐन छ, हामीले पनि त्यसैगरी बेग्लाबेग्लै ऐन बनाउने तयारी थालेका छौं’ उनले भने । ढुंगानाले आगामी आर्थिक वर्षभित्रै बेग्लाबेग्लै विशिष्ट ऐनको विधेयक तयार पारिने बताए ।
विशिष्ट ऐन जारी भइसकेपछि धितोपत्र बजारको नियमन र सुपरिवेक्षण तथा कारबाही चलाउने प्रक्रियामा सहजिकरण हुने उनले बताए । यसका लागि अर्थ मन्त्रालय र विश्व बैंकलगायत दुईपक्षीय विकास साझेदारसँग पनि छलफल भइरहेको उनले सुनाए ।
‘हामीले अन्तरराष्ट्रिय संस्थाहरुलाई सकेसम्म ऐन निर्माणमा वित्तीय एवम् प्राविधिक सहयोग गर्न भनेका थियौं,’ उनले भने, ‘त्यसो हुन नसकेपनि हामीलाई आवस्यक सल्लाहसुझाव दिन भनेका छौं ।’
नेपालमा धितोपत्र बजारको क्षेत्रगत विस्तार पनि बढ्दै गएका कारण विशिष्ट ऐनको खाँचो भएको उनले बताए । पहिले सेयर बजारको नियमनमा मात्रै केन्द्रित भएको बोर्डले अब ठूला संस्थागत लगानीकर्ता, बजार सञ्चालक, कमोडिटी र डेरिभेटिभ्स बजार, प्राइभेट इक्वीटि क्यापिटलजस्ता विस्तारित क्षेत्रमा नियमन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
‘त्यस्ता संस्थाको नियमक र सुपरिवेक्षण गर्ने, अनुसन्धान गर्ने, गल्ति गरेमा कारबाही गर्नेजस्ता प्रभावकारी नियामकीय स्वायत्तताका लागि बेग्लै कानूनको आवस्यकता परेको छ,’उनले भने ।