अब १० पैसाकाे मूल्य फरक पारेर शेयर कारोबार गर्न सकिने, विनियमावली संशोधन « Arthapath.com
१० असार २०७८, बिहीबार

अब १० पैसाकाे मूल्य फरक पारेर शेयर कारोबार गर्न सकिने, विनियमावली संशोधन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबार गर्दा मूल्य परिवर्तनको सीमा १ रुपैयाँलाई १० पैसामा झार्ने निणर्य गरेको छ । बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावलीको दोस्रो पटक संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । यसअघि शेयरको खरीद विक्री आदेश दर्ता गर्दा चलिरहेको मूल्यमा परिवर्तन गर्न चाहे कम्तिमा पनि १ रुपैयाँको मूल्य फरक पार्नुपर्ने व्यवस्था थियो ।

अब चलिरहेको मूल्यमा १० पैसामात्रै परिवर्तन गरेर खरीद विक्री आदेश जारी गर्न पाइने भएको छ । ‘यस व्यवस्थालाई आवस्यक प्रबन्ध मिलाई नेप्सेले कार्यान्वयनमा ल्याउने छ ।’ यसका साथै बोर्डले दोस्रो बजारको प्रारम्भिक सत्र (प्री-ओपनिङ सेशन)को कारोबारमा मूल्य परिवर्तन गर्ने सीमा पनि घटाएको छ । अहिले अघिल्लो दिनको अन्तिम मूल्यमा ५ प्रतिशतसम्म थपघट गरेर प्रिओपनिङमा मूल्य प्रस्ताव गर्न पाइन्छ ।

अब त्यो सीमा घटाएर २ प्रतिशतमा झारिएको छ । यो व्यवस्थाले शेयर मूल्यमा भइरहेको उतारचढाव नियन्त्रण हुने बोर्डको अपेक्षा छ । छिमेकी देश र अन्तरराष्ट्रिय बजारका असल अभ्यासलाई भित्र्याउने उद्देश्यमा यस्तो नीतिगत परिवर्तन गरिएको बोर्डले विज्ञप्तीमार्फत् बताएको छ ।

उक्त व्यवस्था कार्यान्वयनमा आएपछि प्रारम्भिक कारोबार सत्र थप व्यवस्थित हुने बोर्डले बताएको छ । न्युनतम मूल्य परिवर्तन सीमा घटाउँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्नसक्ने र बजार थप लगानीमैत्री हुने विज्ञप्तीमा भनिएको छ ।

10-Paisa


प्रतिक्रिया दिनुहोस्