डिसहोमको सञ्चालक समितिमा बूक बिल्डिङमार्फत् शेयर निष्काशन गर्ने समझदारी « Arthapath.com
१८ असार २०८२, बुधबार

डिसहोमको सञ्चालक समितिमा बूक बिल्डिङमार्फत् शेयर निष्काशन गर्ने समझदारी



काठमाडौं । डिसहोमको सञ्चालक समितिमा प्राथमिक शेयर निश्काशन गर्दा ‘बूक बिल्डिङ’ बिधिबाट मूल्यनिर्धारण गरिने सहमति जुटेको छ । कम्पनीले गत आर्थिक वर्ष नै आईपीओ निष्काशन गर्ने भने पनि बूकबिल्डिङमार्फत् अघि बढ्ने गरी तयारी थालेपछि प्रक्रिया बीचैमा रोकिएको थियो ।

डिसहोम मिडिया नेटवर्कले एक वर्ष अघि अर्थात् ३० असार २०७७ मै धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि निवेदन दिएको थियो । सोही वर्षको १९ असोजमा बोर्डले आवस्यक कागजात पठाउन पत्राचार गरे पनि त्यसपछि कम्पनीले कुनै जवाफ फर्काएको छैन ।

डीटीएच टेलिभिजनपछि फाइबर इण्टरनेटको सेवा विस्तारमा लागेपछि डिसहोमले तत्कालै प्राथमिक शेयर निष्काशन (आइपीओ) नगरेर महँगो मूल्यमा शेयर बेच्ने योजना अघि सारेको थियो । सञ्चित कोष बढाएर ‘बूक बिल्डिङ’ मार्फत्मात्रै सेयर निष्काशन गर्ने डिस मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।

गत साल नै कम्पनीको सञ्चित कोषमा ६५ करोड रुपैयाँ थियो । यो वर्षको नाफा जोड्पछि १ अर्ब नाघ्ने देखिएको छ । यही कारण अब गत आर्थिक वर्षको लेखापरिक्षण पछिमात्रै आइपीओको तयारी शुरु गर्ने आचार्यले जानकारी दिए ।

डिसहोमले पछिल्लो समय फाइबर इण्टरनेट सेवा विस्तारमा ध्यान दिएको छ । सरकारले टेलिभिजनमा विदेशी विज्ञापन प्रशारण गर्न नपाइने गरी ‘क्लिन फीड’ कानून लागू गरेपछि डिसहोमको व्यवसाय खुम्चिएको थियो ।

उक्त निर्णयपछि डिसहोमले कम्तिमा एक चौथाइ डीटीएच (डाइरेक्ट टु होम) सेवा गुमाएको थियो । यद्यपि, उक्त घाटालाई इण्टरनेटको बढ्दो रफ्तारले चाँडै पूर्ति गर्ने आचार्य बताउँछन् ।

‘छोटो समयमा २५ हजारभन्दा बढी ग्राहक हाम्रो फाइबर नेट सेवामा जोडिइसकेका छन्,’ आचार्यले भने, ‘हामी इन्टरनेट सेवा विस्तारमा आक्रामक बनेका छौं ।’ डीएच फाइबरनेट अहिले नै काठमाडौं उपत्यकाका साथै वीराटनगर, ढल्केबर, बर्दिबबास, इटहरी, बुटवलजस्ता शहरमा सेवा विस्तार गरिसकेको छ ।

अबको एक वर्षभित्र नेपालका प्रमुख शहरहरुमा सेवा पुर्याउने र अर्को एक वर्षमा शहरोन्मुख क्षेत्रमा पनि सेवा विस्तार गरिसक्ने प्रबन्ध निर्देशक आचार्य बताउँछन् । ‘तीन वर्षभित्र नेपालभरका फाइबर नेट पुर्याउन सम्भव हुने सबै स्थानमा पुग्ने लक्ष्य राखिएको छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्