साउदलाई उन्मुक्ति दिएको सरकारले ढुंगानालाई हटाउन दाउ खोज्दै, खाली नहुँदै काे-काे छन् अध्यक्षकाे दाैडमा ? « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

साउदलाई उन्मुक्ति दिएको सरकारले ढुंगानालाई हटाउन दाउ खोज्दै, खाली नहुँदै काे-काे छन् अध्यक्षकाे दाैडमा ?



काठमाडौं । परिवारका सदस्यको नाममा सर्वोत्तम सिमेण्टको शेयर किनेको अभियोग लागेका दुई सरकारी अधिकारीलाई सरकारले भिन्नभिन्न ‘ट्रीट’ गर्न थालेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी विवाहित छोरी र नेपाल स्टक एक्सचेञ्जका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदकी पत्नीसँग सर्वोत्तम सिमेण्टको शेयर स्वामित्व देखिएको थियो ।

शेयरको सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारीमा रहेको सर्वोत्तममा हालसालैमात्र यी सरकारी अधिकारीका परिवारको सदस्यको नाममा स्वामित्व हस्तान्तरण भएको समाचारहरु आएपछि दुबै जना विबादमा तानिएका थिए । तर कार्यकाल सकिनै लागेका साउदले तत्कालै राजिनामा दिए । उनको कम्पनीले अहिले पनि दोस्रो बजारमा शेयरको किनबेच समेत गरिरहेको विवरणहरु पनि सार्वजनिक भएका थिए ।

तर पदबाट राजिनामा दिएलगत्तै सरकारले उनलाई उन्मुक्ति दिने कोशिस गरेको छ । हालसम्म उनको विषयमा अर्थ मन्त्रालय र अरु कुनै पनि सरकारी एवम् संवैधानिक निकायले छानबिन र अनुसन्धान अघि बढाएका छैनन् । पदमा बसेर बदमासि गर्ने र पदबाट हटिदिने वित्तिकै सजायँबाट उन्मुक्ति दिने लयमा लागेको सरकार त्यही मुद्दामा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाविरुद्ध भने नियोजित रुपमा खनिएको छ ।

अर्थ मन्त्रालयले आजैमात्र अध्यक्ष ढुंगानालाई स्पष्टिकरणको पत्र थमाएको छ । उनलाई सात दिनको म्याद दिएर ‘पदबाट किन नहटाउने’ भनेर सोधेको छ । ढुंगाना नेकपा एमाले निकट हुन् । उनलाई केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले खुल्ला प्रतिस्प्रर्धाबाट अध्यक्ष नियुक्त गरेको थियो । साउद भने प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । भौगोलिक रुपमा पनि उनी सुदुरपश्चिमकै मान्छे हुन् ।

जनरल इन्स्योरेन्समा सीईओ पद ओगटेर बसेका साउद कार्यकाल सकिनै लाग्दा शेरबहादुर देउवा पुनः प्रधानमन्त्री नियुक्त भएपछि प्रफुल्लित थिए । आफू पुनः नेप्सेको सीईओमा दोहोरिने निश्चित मानेपछि उनले जनरल इन्स्योरेन्समा रामचन्द्र श्रेष्ठलाई सीईओ नियुक्त गर्न स्वीकृति दिए । शेयरको दोस्रो बजारमा भित्रि कारोबार गरेको र अनियमित ढंगले बीमा भुक्तानी गरेका आरोपहरु खेपिरहेको यो कम्पनीले पहिलो सीईओ पायो ।

तर सर्वोत्तम सिमेण्टको शेयर कारोबारमा फसेपछि साउदले नेप्सेमा दोस्रो कार्यकाल सीईओ बन्ने ढोका आफैंले बन्द गरे । यद्यपि, उनी विरुद्ध सरकारले मौनता साँधेको छ । जबकी, उनले श्रीमतीकै नाममा शेयर लिएका छन् । विबाहित छोरीलाई नेपालको कानूनले एकाघर परिवार मान्दैन । यस्तो अवस्थामा अर्कै परिवारमा पुगेकी छोरीको नाममा शेयर देखिएको भन्दै ढुंगानालाई भने जसरी पनि हटाउने मनस्थितिमा सरकार देखिएको छ ।

ढुंगानाले भने सरकारलाई स्पष्टिकरण पनि दिने सरकारी कदम विरुद्ध अदालत पनि जाने निर्णय गरेको बताएका छन् । ‘मेरो दुई वर्ष कार्यकाल बाँकी छ,’ उनले भने, ‘अहिले हटाउन खोजिए अदालत जान्छु ।’ उता गठबन्धन दलका निकट रहेका अधिकारीहरु भने ढुंगानालाई कतिबेला हटाउन सकिन्छ र अध्यक्ष बनौंला भनेर कुरिरहेको जानकार बताउँछन् । तर ढुंगाना स्वयम् भने प्रत्यासी उमेदवारहरुले खासै दबाब नदिए पनि सरकार चाहीँ आफ्नो पछि लागेका बताउँछन् ।

सरकारले गम्भिर प्रकृतिकाे काराेबारमा संग्लग्न रहेका साउदलाई पदबाट हट्न लगाएर पुरस्कृत गरेकाे बिज्ञहरूकाे विष्लेसण छ । साउद र निजी क्षेत्रकाे छाता संगठन नेपाल उद्याेग वाणिज्य महासंघका बरिष्ठ उपााध्यक्ष चन्द्र ढकाल लगायतलाई पदबाट राजिनामा दिएकै भरमा छानविन नै गर्नु नपर्ने गरी सफाय दिएकाे छ ।

काे-काे छन् भावी अध्यक्षकाे दाैडमा ?

‘अहिले मैले कार्यकालको बीचमा छाड्दा जो अध्यक्ष भएर आउँछ, उसले जम्मा २ वर्षमात्रै काम गर्न पाउँछ,’ ढुंगानाले भने, ‘यति छोटो समयका लागि कसैले पनि असाध्यै धेरै प्रयास गर्दैनन् ।’ तर अर्थ मन्त्रालय निकट स्रोतका अनुसार गठबन्धनका मूल तीन दलमा कम्तिमा एक एक जना उमेदवार तयार भएका छन् ।

स्रोतका अनुसार धितोपत्र बोर्डकै पुर्व अध्यक्ष रेवतबहादुर कार्की पुनः अध्यक्ष दोहोर्याउने दाउमा छन् । उनी नेपाली कांग्रेस निकट हुन् । नेकपा एकीकृत समाजबादीको निकट रहेको कृष्णप्रसाद आचार्य पनि सेबोनको नेतृत्व ताक्न थालेका छन् । उनी सोम पाण्डेका ज्वाइ हुन् । सोम पाण्डे आफैं माधवकुमार नेपालका सम्धी । आचार्य यसअघि कर्मचारी सञ्चय कोषका प्रशासक थिए । माओबादी केन्द्र निकट मानिने चिरञ्जिवी चापागाइँ पनि बोर्ड अध्यक्षका लागि देखिएको उमेदवार हुन् । उनी नेपाल राष्ट्र बैंकको जागिरमै रहँदा बीमा समितिको अध्यक्ष बन्न गएका थिए ।


प्रतिक्रिया दिनुहोस्