अध्यक्ष नहुँदा साढे २७ अर्ब रुपैयाँको आईपीओ, डिबेञ्चर, हकप्रद र म्युचुअल फण्डले अनुमति पाएनन्

काठमाडौं । धितोपत्र बोर्डले आईपीओ जारी गर्न अनुमति नदिएको ४ महिना बढी भईसकेको छ । आईपीओ जारी गर्न निवेदन दिने कम्पनी थपिदै गएपनि धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आईपीओ जारी गर्न अनुमति दिन सकिरहेको छैन् । बोर्डले अन्तिम पटक गत साउन १४ गते केही कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको थियो । उक्त समयदेखि कुनै पनि कम्पनीले आईपीओ लगायत डिबेञ्चर र म्युचुअल फण्ड निष्काशनको अनुमति पाएका छैनन् ।
बोर्डमा अध्यक्ष नियुक्त नहुँदा दर्जनौं कम्पनीको शेयर, डिबेञ्चर र म्युचुअल फण्ड निष्काशन गर्ने काम ठप्प भएको हो । धितोपत्र बोर्डमा विभिन्न २५ कम्पनीका ६ करोड १३ लाख ५६ हजार कित्ता आईपीओ जारि गर्न निवेदन परेका छन् । त्यस्तै, विभिन्न ३ कम्पनीको १६ लाख ७९ हजार कित्ता थप शेयर निष्काशन (एफपीओ) गर्ने निवेदनहरु परेका छन् ।
कुल १ अर्ब ५३ करोड ५० लाख इकाई म्युचुअल फण्ड जारी गर्न १३ वटा कम्पनीका निवेदनहरु पनि बोर्डमा परेका छन् । त्यस्तै, विभिन्न ३ बैंकले ५२ लाख इकाई डिबेञ्चर निष्काशन गर्न निवेदन दिएका छन् । अरु त अरु, ३ करोड ८ लाख ४३ हजार कित्ता हकप्रद शेयर बिक्री गर्नको लागि अनुमति माग्दै बोर्डमा आवेदन परेका छन् । तर बोर्डले अध्यक्ष नपाउँदा यी सबै कम्पनीले निष्काशन तथा बिक्री अनुमति पाउन सकेका छैनन् । यी सबै शेयर, डिबेञ्चर र म्युचुअल फण्डको प्रस्तावित मूल्य करीब २७ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ हुन्छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता निरज गिरि भने सबै प्रक्रिया रोकिएको नभएर ‘ढिलाइ भएको’ बताउँछन् । ‘आइपीओ स्वीकृत गर्ने जिम्मेवारी बोर्डको सञ्चालक समितिले छ’, उनले भने, ‘यही कारण अहिले अध्यक्षको अभावमा प्रक्रियामा ढिलाइ भएको छ ।’
यसअघि सर्वोत्तम सिमेण्टको शेयरमा ‘इनसाइडर ट्रेडिङ’ गरेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । उनी उक्त सरकारी निर्णय विरुद्ध अदालत पुगेपछि सरकार अहिले ‘पर्ख र हेर’को अवस्थामा छ ।

