राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज (फागुन ८ गते, आइतबार) अन्तिम दिन रहेको छ । राष्ट्र उत्थान लघुवित्तले सर्वसाधारणका लागि फागुन ४ गते बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । जसमध्ये ०।५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।