डिम्याट खाता र मेरो शेयर नवीकरणवापत झण्डै ७० करोड रुपैयाँ शुल्क तिर्दै लगानीकर्ता, सिडिएससी ‘हेरेको हेरै’ « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

डिम्याट खाता र मेरो शेयर नवीकरणवापत झण्डै ७० करोड रुपैयाँ शुल्क तिर्दै लगानीकर्ता, सिडिएससी ‘हेरेको हेरै’



काठमाडौं । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या झण्डै ५० लाख पुगेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) का अनुसार मंगलबारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ४९ लाख ७० हजार ९०२ जना पुगेका छन् ।

डिम्याट खाता हरेक आर्थिक वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ भने मेरोशेयरको खाता आफुले खोलेको मितिले वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ । मेरो शेयरको खाता नवीकरण वापत ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ भने डिम्याट खाता नवीकरण गर्दा १ सय रुपैयाँ शुल्क लाग्छ ।

यदि ४९ लाख ७० हजार ९०२ डिम्याट खाता प्रत्येक बर्ष नै नवीकरण हुने हो भने ४९ करोड ७० लाख ९० हजार रुपैयाँ आम्दानी हुन्छ । डिम्याट खाता नवीकरण गर्दा प्रत्येक बर्ष १ सय रुपैयाँ शुल्क लाग्छ । जसमा सिडिएससीले पाउने भनेको १० रुपैयाँ मात्रै हो । बाँकी रहेको ९० रुपैयाँ डिपीले नै लिने गर्दछ । सिडिएससीले बर्षमा डिम्याट खाता नवीकरण गरेवापत ४९ लाख ७० हजार ९०२ डिम्याट खाताका आधारमा ४ करोड ९७ लाख ९ हजार रुपैयाँ मात्रै पाउने देखिन्छ । बाँकी ४४ करोड ७३ लाख ८१ हजार रुपैयाँ भने डिपीले लिने गर्छ । तर पनि डाटा स्टोर गर्दा होस वा रेकर्ड किपिङ गर्दा सिडिएससीको सफ्टवेयर प्रयोग हुन्छ ।

सिडिएससीका अनुसार पहिला सर्टिफिकेट डिपीमा बुझाउने वा निवेदन दिने, भेरिफाइ वा छानविन गर्ने, कम्पनीसँग सहकार्य गर्ने लगायत भौतिक रुपमा नै हुने भएकाले काम बढी थियो । तर अहिले यी सबै काम गर्नुपर्ने झण्झट हटेको छ । एउटा डिम्याट खाता खोल्ने काम मात्रै गर्ने गरेको छ । त्यसैले यो शुल्क घटाउनतिर सिडिएससीले पहल गरिरहेको छ ।

सिडिएससीले डिम्याट खाता नवीकरणमा लाग्ने शुल्क कम गरेर ५० रुपैयाँमा सिमित गर्न धितोपत्र बोर्डसँग पनि आग्रह गरेका थियो । समय अनुसार कामको भार पनि कम भएकाले डिपीलाई ४० रुपैयाँ राख्न दिने र सिडिएससीलाई १० रुपैयाँ गरी ५० रुपैयाँ शुल्क कायम गर्न आग्रह गरेको छ ।

यस्तै, मेरो शेयर प्रयोग गर्नेका संख्या ४० लाख ८२ हजार ६१५ जना रहेका छन् । मेरो शेयरको खाता नवीकरण वापत ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । यदि ४० लाख ८२ हजार ६१५ ले मेरो शेयर नवीकरण गर्ने हो भने २० करोड ४१ लाख ३० हजार रुपैयाँ शुल्क उठ्छ । तर पनि सिडिएससीले मेरो शेयरको खाता नवीकरणबाट ५० प्रतिशत अर्थात २५ रुपैयाँ मात्रै पाउँछ । सिडिएससीले मेरो शेयर नविकरण गरेवापत वार्षिक १० करोड २० लाख ६५ हजार रुपैयाँ मात्रै पाउँछ भने बाँकी रकम डिपीले नै राख्छ ।

इस्यू म्यानेजरलाई त ईस्यू गर्ने कम्पनीले रकम पनि दिने गर्छन् । इन्स्यू म्यानेजर कम्पनीलाई दुवै ठाउँबाट मनग्य आम्दानी हुने देखिन्छ । तर इस्यू म्यानेजरले सञ्चालनमा ल्याएका वेवसाईटबाट रिजल्ट हेर्दा सबै ह्याङ् हुने गरेका छन् । सबै सुविधा सिडिएससीले दिने गर्दछ तर पैसा मात्रै इस्यू म्यानेजर कम्पनीले लिने गरेका छन् । इस्यू म्यानेजर कम्पनीले रिजल्ट हेर्न सक्ने पोर्टल विकास सम्म गर्न सकेका छैनन् । अधिकांश लगानीकर्ताले सिडिएससीले सञ्चालनमा ल्याएको वेवसाइटबाट नै रिजल्ट हेर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्