आजदेखि आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर आज आइतबार (फागुन २२ गते) देखि निष्कासन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आज फागुन २२ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता (१०ः४) शेयरको अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । इन्स्योरेन्स कम्पनीको १० कित्ता शेयर हुनेले नयाँ थप ४ कित्ता शेयर पाउनेछन् ।
कम्पनीको कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिन्छ ।
कम्पनीको हकप्रद शेयरमा छिटोमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद प्रयोजनार्थ फागुन १ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।