शुक्रबार पनि शेयर कारोबार हुने « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

शुक्रबार पनि शेयर कारोबार हुने



काठमाडौं । सरकारले आगामी जेठ महिनालदेखि हप्तामा २ दिन बिदा दिने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको प्रस्तावमा सरकारले जेठबाट लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । यसअघि शनिवार मात्रै बिदा दिने सरकारको निर्णयपश्चात शनिबार र आइतबार बिदा दिने भएको हो ।

हप्तामा २ दिन बिदा दिने सरकारले निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि शेयर बजारको तालिका हेरफेर गर्ने तयारी गरेको छ । आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेसँगै नेप्सेले पनि आइतबारको सट्टा शुक्रबार शेयर कारोबार खुला गर्ने तयारी गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले जेठबाट शुक्रबार पनि शेयर कारोबार गर्ने गरी तयारी भईरहेको बताए । धितोपत्र कारोबारसम्बन्धी ऐन–कानुनमै परिमार्जन गर्नुपर्ने रहेछ भने पनि नेपाल धितोपत्र बोर्डबाट गराएर आगामी जेठ महिनाबाट शुक्रबार पनि शेयर कारोबार खुला गर्ने उनले बताए ।

हाल सातामा ५ दिन शेयर कारोबार हुँदै आएको छ । जेठदेखि आइतबार पनि विदा दियो भने शेयर कारोबार पनि बन्द हुनेछ । त्यसैले आइतबारको सट्टा शुक्रबार शेयर कारोबार पनि गराउने नेप्सेले जनाएको छ । यदि धितोपत्रबाट स्वीकृति पायो भने शुक्रबार पनि शेयर कारोबार हुने छ । सातामा ५ दिन नै शेयर कारोबार हुनुपर्नेमा नेप्सेको जोड छ ।


प्रतिक्रिया दिनुहोस्