मर्जर छोडेर नेपाल इन्स्योरेन्सको प्रमोटर सेयर विक्री गर्दै आइएमई समुह, ओभरभ्यालुएसन गरेर निकाल्यो सूचना « Arthapath.com
२४ असार २०७९, शुक्रबार

मर्जर छोडेर नेपाल इन्स्योरेन्सको प्रमोटर सेयर विक्री गर्दै आइएमई समुह, ओभरभ्यालुएसन गरेर निकाल्यो सूचना



काठमाडौं । बीमा समितिले क्रस होल्डीङ भएका जिवन र निर्जीवन गरी नौ कम्पनीलाई मर्जरमा जान प्रेसर दिएको छ । बीमा कम्पनीको संख्या घटाउन कदम चालेको बीमा समितिले क्रस होल्डिङबाट सुरु गरेको छ । बजारमा आइएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा आइएमई ग्रुपको ठुलो लगानी रहेको छ ।

आइएमई समुहको आइएमई जनरल इन्स्योरेन्समा ५१ प्रतिसतभन्दा बढी लगानी छ भने नेपाल इन्स्योरेन्समा पनि प्रत्यक्ष अप्रत्यक्ष गरेर ३५ प्रतिसतभन्दा बढी लगानी रहेको छ । आइएमई ग्रुपको अर्को अजोड इन्स्योरेन्समा पनि केही प्रतिसत लगानी रहेको छ ।

लामो समयदेखी मर्जरको चर्चामा रहेको आइएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स विच मर्जर नहुने पक्का भएको छ । १ महिना अघिमात्रै मर्जरको प्रक्रियामा रहेको भन्दै तेस्रो कार्यकालको लागी संचालक निर्वाचिनको लागी बीमा समितिबाट अनुमति लिएको नेपाल इन्स्योरेन्स आइएमईसंग मर्जरमा भने पछि हटेको छ ।

नेपाल इन्स्योरेन्सले हालै सम्पन्न संचालक निर्वाचनमा बीमा समितिबाट मर्जर प्रक्रिया तत्काल थाल्ने भनेर अध्यक्षसहित ३ जना संचालक तेस्रो कार्यकालको लागी निर्वाचित गरेको छ । क्रस होल्डिङ भएको कम्पनीसंग मर्ज गराउनुको साटो आइएमई समुहले नेपाल इन्स्योरेन्समा रहेको १७ प्रतिसत प्रमोटर सेयर विक्री गरेर बाहिरिने बताएको छ ।

आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट प्रा.लि. र आइएमई होल्डिङ्ग प्रा.लि.ले आफ्नो नाममा रहेको संस्थापक सेयर विक्री गर्न आइएमई समुहले आज एक सूचना जारी गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले हाल रहेका सेयरधनीहरुलाई उक्त शेयर खरिदका लागि ३५ दिने सूचना निकालेको हो ।

आइएमई समुहको ३ ओटा छुट्टाछुट्टै कम्पनीको नाममा रहेको ७ लाख १९ हजार २०५ कित्ताका दरले २१ लाख ५७ हजार ६१५ कित्ता सेयर विक्रीमा राखेको छ । जुन सेयरको न्युनतम बिक्री मुल्य ३२५ रुपैयाँ तोकेको छ । ३५ दिनको अवधीमा अहिलेका अन्य संस्थापकहरुले सेयर खरिद गर्न नचाहेमा अन्य लगानीकर्ताका लागि आह्वान गर्नेछ ।

बीमा समिति पंगु बनाउँदै आइएमई समुह

आइएमई समुहले नेपाल इन्स्योरेन्सको उक्त सेयर विक्री गर्ने मनसायले नभई बीमा समितिलाई गुमराहमा हाल्न गरेको देखिन्छ । आज नेपाल इन्स्योरेन्सको पव्लिक सेयर प्रतिकित्ता ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । पव्लिकमा कारोबार भैरकेको कम्पनीको पव्लिक प्राइसको आधा मुल्यमा प्रमोटर सेयर बेच्ने गरिन्छ । नेपाल इन्स्योरेन्सको बुक भ्यालु पनि १ सय ७७ रुपैयाँ रहेको छ ।

कुनैपनि कम्पनीको प्रमोटर सेयरको प्राइसिङ गर्दा बुक भ्यालु र मार्केट ट्रेडलाई हेर्ने गरिन्छ । कुनैपनि आधारबीमा सेयर विक्री गर्नु भनेको नियमनकारी निकायको अगाडी झारा टार्ने काम मात्रै हो ।

नेपाल इन्स्योरेन्सले ३ सय २५ रुपैयाँ न्यूनतम मुल्य राखेर सूचना निकाल्नुलाई बजारका लगानीकर्ताले धेरैनै ओभर भ्यालुएसन गरिएको बताएका छन् । एक लगानीकर्ताले भने ‘विक्रीको उदेश्ष्यले सेयर राखिएको होइन, विक्रीको लागी राखिएको भए प्रतिकित्ता न्युनतम २ सय २५ देखि २५० सम्म राखिन्थ्यो ।’ प्रतिकित्ता करिब १ सय भन्दा बढी ओभरभ्यालुएसन गरेर सेयर विक्रीको सूचना निकालिएको सेयर बजारका खेलाडीहरु बताउँछन् ।

बीमा समितिले क्रस होल्डिङ भएकालाई मर्जर गराउन खोजेपछि बीमा समितिलाई पंगु बनाउन आइएमई ग्रुपले ओभर भ्यालुएसन गरेर सेयर विक्रीमा राखको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्