लगानीकर्ताको विश्वास बिना धितोपत्र बजारको अस्तित्व छैन, लगानीकर्ताको हितमा काम गछौं-हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कुनै पनि निर्णय गर्दा लगानीकर्ताको हित हेरेर मात्रै गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै हमालले कुनै निर्णय गर्दा लगानीकर्ताको हितका लागि गर्ने गरेको बताएका हुन ।
साथै उनले लगानीकर्ताको विश्वास बिना धितोपत्र बजारको अस्तित्व नरहेको बताउदै बोर्डको काम भनेको नै लगानीकर्ताको संरक्षण गर्ने भएको बताएका हुन । आफुले कार्यभार सुरु गरेदेखि नै लगानीकर्ताहरुको हितमा काम गरेको समेत उनको भनाइ थियो ।
हमालले, ‘आफूबाट केही गलत काम गरेको भएमा मिडियाले खबरदारी गर्न सक्नेछन् । हामी कसरी पूँजी बजारलाई राम्रो बनाउन सकिन्छ भनेर काम गरिरहेको छौं । हामीले ठूला कम्पनीलाई पनि शेयर बजारमा जोड्ने तयारीमा छौं । उनले भने ।
साथै सोहि कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताएका छन् ।