मर्जर प्रक्रियामा भएका कम्पनीको सेयर कारोबार रोक्का राख्ने व्यवस्था खारेजसँगै यी तीन दर्जन कम्पनीको सेयर कारोबार फुकुवा हुँदै « Arthapath.com
२७ कार्तिक २०७९, आईतवार

मर्जर प्रक्रियामा भएका कम्पनीको सेयर कारोबार रोक्का राख्ने व्यवस्था खारेजसँगै यी तीन दर्जन कम्पनीको सेयर कारोबार फुकुवा हुँदै



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सुरु गरेपछि दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्ने प्रवाधानलाई औपचारिक रुपमा अन्त्य गरेगरेसँगै तनि दर्जन कम्पनीको सेयर कारोबार फुकुकवा हुने भएको छ ।

‘संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका, २०७९’ बुधबार साँझ बसेको बोर्डको सञ्चालक समिति बैठकले पारित गरेसँगै गत विहीबारबाट कार्यान्वयनमा आएको थियो।

अब कुनै पनि कम्पनी मर्जर वा एक्वीजिशनमा जाँदा समझदारी पत्रमा हस्ताक्षेर भएदेखि नै शेयर कारोबार बन्द हुने अवस्था रहने छैन । बरु मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थालेपछि भने अधिकतम १५ दिनसम्म कारोबार रोक्का हुने भएको छ ।

सेयर मिलान, धितोपत्र पान दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचिकरण प्रयोजनका लागि बढीमा १५ दिन कारोबार रोक्का राख्नसक्ने निर्देशिकामा उल्लेख छ ।

यसअघि मर्जर सकिएको कति समयसम्म कारोबार रोक्का राख्न पाइने भनेर कानूनले तोकेको थिएन । यही कारण एकिकृत कारोबार सुरु भएको महिनौं पछिसम्म पनि कतिपय कम्पनीको सेयर कारोबार रोक्का रहँदै आएको थियो । यसले बहुसंख्यक लगानीकर्ताको सम्पत्ती ‘होल्ड’ हुने परिस्थिति बनेको भन्दै लगानीकर्ता र कम्पनीहरुले पनि यसखाले व्यवस्थाको विरोध गर्दै आएका थिए ।

कतिपय कम्पनीहरु मर्जरका लागि समझदारीमा हस्ताक्षेर गरेर पछि भाँडिने अवस्था पनि आएका छन् । यसले लगानीकर्ताको सम्पत्ती धेरै लामो समयसम्म स्थिर हुने अवस्था आएको थियो । नयाँ निर्देशिकाले आधारभूत सेयरधनि अर्थात् निश्चित प्रतिशतभन्दा धेरै शेयर स्वामित्व भएका शेयरधनीको कारोबार भने रोक्का राख्ने व्यवस्था गरेको छ । त्यसबाहेकका सेयरधनीको स्वामित्वमा भएको सेयर कारोबार गर्न पाइने भएको छ ।

अब मर्जरको प्रक्रियामा रहेका कम्पनीहरु नयाँ नियम अनुसार कारोबार रोक्का नराखी प्रक्रिया अघि बढाउन सक्ने छन् । तर मर्जर प्रक्रियामा गइसकेर कारोबार रोक्का भएका कम्पनीले भने नेप्से र सीडीएससीमा निवेदन दिनुपर्ने छ ।

‘नयाँ निर्देशिका अनुसार कारोबार खुला गरिदिन निवेदन दिएपछि रोक्का रहेका कम्पनीको कारोबार पनि खुल्छ’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने । उनका अनुसार कम्पनीहरुले आफ्ना आधारभूत सेयरधनिको सूचि तयार पारेर उक्त सूचिसहित बाँकीको कारोबार फुकुवा गर्न नेप्से र सीडीएससीमा निवेदन दिनु पर्ने छ ।

अहिले नेप्सेमा सूचिकृतमध्ये ५६ कम्पनीको सेयर कारोबार रोक्का (निलम्बन) गरिएको छ । यसमध्ये केही कम्पनीले प्रक्रिया अनुसारको कागजात नबुझाएको र कतिपय कम्पनी अस्तित्वमा रहे पनि निष्कृय रहेका छन् । यसमध्ये करीब ३ दर्जन कम्पनी भने मर्जरकै कारण कारोबार रोक्का वा निलम्बनमा छन् ।

नेप्सेका अनुसार नेपाल इन्भेष्टमेण्ट बैंक, बैंक अफ काठमाडौं, कुमारी बैंक, एनसीसी बैंक, ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक, सेञ्चुरी बैंकको कारोबार रोक्का छ । क्रिस्टल फाइनान्स र हिमालयन फाइनान्सको कारोबार पनि खुल्न सकेको छैन ।

समीट लघुवित्त, सानाकिसान विकास लघुवित्त, आरएमडीसी लघुवित्त, नेशनल माइक्रोफाइनान्स, नडेप लघुवित्त, आधिखोला लघुवित्त, घोडीघोडा लघुवित्त, समाज लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, आदर्श लघुवित्तजस्ता संस्थाको सेयर पनि कारोबार बन्द थियो ।

पछिल्लो समय बीमा कम्पनीहरुमा मर्जरको लहर देखिएसँगै धेरै कम्पनीको कारोबार रोकिएको छ । प्रिमियर इन्स्योरेन्स, प्रभू इन्स्योरेन्स, सगरमाथा इन्स्योेरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स पनि नेप्सेको कारोबार सूचिमा निलम्बित छन् ।

अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योेरेन्स, जनरल इन्स्योेरेन्स, सानिमा इन्स्योरेन्स, प्रभू लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सजस्ता कम्पनीको सेयर कारोबार हुन सकेको थिएन ।

Tags :

प्रतिक्रिया दिनुहोस्