अर्थमन्त्री पौडेललाई सेयर बजारको हरियो कार्पेटः लगानीकर्ता उत्साहित, कारोबार रकम ४ अर्ब नजिक

काठमाडौं । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकारमा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेसँगै शेयर बजारमा आकर्षक सुधार आइरहेको छ । विगतमा पौडेलले अर्थमन्त्री पद सम्हाल्दा सेयर बजारको प्रदर्शन राम्रो रहेको कारण लगानीकर्ता उत्साहित बनेको विश्लेषण गरिएको छ । पौडेल अर्थमन्त्री बनेसँगै शेयर बजारमा आएको हरियाली लगानीकर्ता खुसी भएको आंकलन गर्ने थालेको छ ।
पौडेल पछिल्लो पटक अर्थमन्त्री बन्दा पनि सेयर बजार सकारात्मक गतिमा अघि बढेको थियो । जसका कारण लगानीकर्तामा पुनः आशा पलाएको अनुमान गर्न सकिन्छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उनी अर्थमन्त्री बनेका थिए । सो अवधिमा पौडेल ९ महिना अर्थमन्त्री सम्हालेका थिए । सेयर बजारमा दीर्घकालीन सुधारका लागि भने सरकारले लिने नीति, वृहत अर्थतन्त्र, ब्याजदर तथा तरलतालगायत विविध पक्षहरुको झन् ठूलो भूमिका हुने गर्दछ । अहिले पौडेल आइसँगै लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ ।
ब्याजदर वृद्धि लगायतका अनेकौं माग लिएर आन्दोलनमा रहेका ब्यवसायीहरुलाई अर्थमन्त्री पौडेलले पदभार गरेको २ दिन मै छलफलका लागि बोलाएसँगै पूँजी बजार सुधारलाई समेत पौडेलले सकारात्मक कदम चाल्ने आशाले लगानीकर्ता उत्साहित बनेका छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजार सुधार लागि कुनै पनि सहि कदम चाल्न नसकेको भन्दैं रुष्ट लगानीकर्ता हौसिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.८७ अकंले बढेर १९८३.९५ बिन्दुमा बन्द भएको छ । आज नेप्ुसेमा सूचीकृत २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार लक्ष्मी बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २० करोड ९४ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ । साथै, नेपाल टेलिकमको १४ करोड २ लाख ८ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको १२ करोड १४ लाख ९६ हजार रुपैयाँ, नबिल बैंकको ११ करोड ३२ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सिद्धार्थ इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, अजोड इन्स्योरेन्स, सिर्जनशील लघुवित्त लगायत ६ कम्पनीको शेयरमा सर्किट लागेको हो ।

साथै आज सर्वाधिक गुमाउने कम्पनीमा आँधीखोला लघुवित्तले २.६३ प्रतिशत, मिर्मिरे लघुवित्तले २.२२ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरले २ प्रतिशतले गुमाएका हुन ।

मंगलबार १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको २.६६ प्रतिशत, विकास बैंक समूहको २.९४ प्रतिशत, फाइनान्स समूहको ४.३५ प्रतिशत, हाइड्रोपावर समूहको ४.६८ प्रतिशत, जीवन बीमा समूहको ३.९९ प्रतिशतले शेयर मूल्य बढेको हो ।
