सेयर बजारमा ९८ अंकको उतारचढाव, ११ महिनाकै उच्च कारोबार « Arthapath.com
१६ असार २०८२, सोमबार

सेयर बजारमा ९८ अंकको उतारचढाव, ११ महिनाकै उच्च कारोबार



काठमाडौं । मंगलबार झण्डै १ सय अंकको उतारचढाव ब्यहोरेर सेयर बजारले ओरालो यात्रामा पाइला टेकेको छ । नेपाली कांग्रेसले सरकारलाई विस्वासको मत दिने निर्णय गरेको खबर आएसँगै मंगलबार दिउँसोबाट सेयर बजार ओरालो लाग्न थाल्यो । सामाजिक सञ्जालमा पनि सरकारको समर्थनमा कांग्रेस पनि आएपछि सरकारको स्थायित्वमा प्रश्न उठेको छ ।

स्वयम् एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको यो समर्थनलाई ‘राजनीतिक जाल’ हुन सक्ने भन्दै संसदबाट शंका जनाएका छन् । अब प्रधानमन्त्री प्रचण्डलाई सरकार टिकाउन एकालेको जरुरत पर्ने छैन । त्यसकारण भावि सत्ता समिकरणमा मन्त्रीहरुको हैसियत बदलिनसक्ने टिप्पणीहरु भएका छन् । अहिले सेयर बजारले प्रधानमन्त्री प्रचण्डलाई होइन, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बढी विस्वास गरेको हो । ब्यापारीसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने र राष्ट्र बैंकको नेतृत्वलाई समेत आफ्नो प्रभावमा राख्नसक्ने पौडेलले बजारको भविष्यलाई उज्वल पार्छन् भन्ने आशा धेरैले गरेका थिए । तर सत्तासमीकरणमा देखिएको नयाँ घटनाक्रमले पौडेलको निरन्तरता नरहने पो हो की भन्ने प्रश्न उब्जिएको लगानीकर्ता बताउँछन् । यस्ता राजनीतिक अड्कलबाजीलाई छाड्ने हो भने प्राविधिक रुपमै पनि नेप्से घट्ने बेला आएको देखिएको छ ।

मंगलबार नेप्सेमा निकै फराकिलो उतारचढाव देखिएको छ । यसदिन नेप्से २१ सय ७९ देखि २२ सय ७७ अंकबीच उतारचढावमा रह्यो । कुल ९८ अंकको फराकिलो करिडोरमा कुदेको सेयर बजार झण्डै एक महिनापछि उच्च अन्तरले घटेको छ । पछिल्ला ११ दिनमा ३ सय ४५ अंकको छलाङ मारेको नेप्से परिसूचक मंगलबार २१ अंक ओर्लिएर २१ सय ९० अंकमा झर्यो ।

२०७८ भदौ ३ मा ३२ सय २७ अंकसम्म पुगेर ओरालो लागेको नेप्से गएको १० असारमा १८ सय ७ अंकभन्दा तल ओर्लिएको थियो । यसरी १० महिनामा १४ सय २० अंक अर्थात् ४४ प्रतिशतको गिरावटपछि नेप्से बढ्दो प्रबृत्तीमा छ । न्यूनतम विन्दुमा झरेयताका साढे ६ महिनामा ४ सय ७० अंक अर्थात् २६ प्रतिशत बढेर मंगलबार नेप्सेमा करेक्सन देखिएको हो । बजारले एक चौथाईभन्दा बढी आकार बृद्धि गरेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्नु स्वभाविक हो । अहिले पुस मसान्त आएकाले आय करको दोस्रो किस्ता बुझाउने रकम निकाल्न पनि कतिपय लगानीकर्ताले सेयर बेचेका छन् ।

यस दिन नेप्सेले २२ सय ७७ अंकमा प्रतिरोध पायो । यो गत २७ मंसिरको न्यूनतम विन्दु २२ सय ८२ अंकको नजिक छ । त्यसबेला नेप्से लगातार ६ सय २० अंक घटेको थियो र त्यसै दिनबाट उकालो लागेर ७ सय २३ अंकसम्म बढेको थियो । २०७७ पुसदेखि २०७९ वैशाखसम्म १६ महिनाकै न्यून स्तरमा रहेको यही विन्दुलाई अहिले नेप्सेले प्रतिरोधको रुपमा लिएजस्तो देखिएको छ ।

प्राविधिक विश्लेषणमा अहिले नेप्सेको रेखाचित्रले ‘डबल बटम’ अर्थात् अंग्रेजी अक्षर ‘डब्ल्यू’ को आकृति तयार पारेको छ । यस्तो आकृतिले बजार बढ्नका लागि तम्तयार भएको देखाउँछ । तर यसअघि पनि २०७५ असोजदेखि २०७६ वैशाखको बीचमा यस्तै आकृति देखिएको थियो । त्यो बेला अर्को ६ महिना लगाएर नेप्से पुनः अर्को न्यूनतम विन्दुमा झरेको थियो । अहिले पनि त्यही इतिहास दोहोरिएला वा नदोहोरियला, भन्न सकिन्न । प्रबृत्तीले चाहीँ त्यस्तै अवस्था दोहोरिने अड्कल काट्न बढी ठाउँ दिएको छ ।

मंगलबार नेप्सेले कारोबार रकममा पनि ११ महिनायताकै कीर्तिमानी उचाइ चुमेको छ । ७ अर्ब ६५ करोड ८८ लाखको सेयर किनबेच भएको यस दिन बाणिज्य बैंक बाहेक सबैजसो सेयरको सामूहिक परिसूचकहरु ओरालो लागेका छन् । २ करोड ८ लाख कित्ताभन्दा बढी कारोबार भएको छ । तर जम्मा ५३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५१ कम्पनीको सेयरको भाउ घटेपछि नेप्सेको आकार भने खुम्चिएको छ ।

मंगलबार नेप्सेको बजार पूँजीकरण अघिल्लो दिनको तुलनामा ३० अर्ब ८१ करोड हाराहारीले घटेर ३१ खर्ब ६२ अर्ब ४० करोडमा झरेको छ । सोमबार नेप्सेको आकार ३१ खर्ब ९३ अर्ब २१ करोड पुगेको थियो । उच्च कारोबार र घट्दो बजारले आउँदा दिनमा नेप्सेलाई ओरालो यात्रामै प्रोत्साहन गर्नसक्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्