मौद्रिक नीति समीक्षाको असरः सुरुआति कारोबारमा नेप्सेले गुमायो ४० अंक

काठमाडौं । आइतबारको प्रातकालिन कारोबारमा नेप्सेले ४३ अंकको गिरावट भोगेको छ । गत शुक्रबार जारी भएको मौद्रिक नीति समीक्षामा लगानीकर्ताले अपेक्षा गरेजस्तो नीतिगत बदलाव नदेखिएपछि नेप्सेमा यसको खराब नतिजा देखिएको हो ।
सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता बढाउने खालका सुधारको अपेक्षा गरेको थियो । तर त्यसो नभएपछि सेयर बजार खुलेको ९ मिनेटभित्रै ४३ अंक घटेको हो । पहिलो एक घण्टा वित्दासम्म यो रफ्तार अझै फराकिलो भएको छ ।

कारोबारमा आएकामध्ये केवल ६ कम्पनीको सेयर थोरै महँगिएका छन् भने २०३ कम्पनीको सेयर मूल्य सस्तिएका छन् । नेप्से परिसूचक एक घण्टामै २ प्रतिशतभन्दा धेरै अर्थात् करीब ४४ अंक घटेर २१ सय ३८ अंकमा झरेको छ ।
आइतबार अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गर्ने भनेको छ । तर यसबीचमा पनि ठूलै नीतिगत परिवर्तन हुने छाँट छैन । सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीतिगत बदलाव नभए यो घट्दो रफ्तार फेरी १८ सयकै विन्दुसम्म फर्किन सक्ने जोखिम कायम रहन सक्छ ।