नेप्सेमा थप दुई लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।
नेप्सेले दुवै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ५ गते बुक क्लोज गरेकाले फागुन ४ गतेसम्म कायम अन्तिम शेयर मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
मिथिला लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार ६० रुपैयाँको आधारमा प्रस्तावित १५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले ९२१ रुपैयाँ ७४ पैसा तोकेको छ ।
त्यस्तै महिला लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य ४ हजार ७९ रुपैयाँको आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ४७.५० प्रतिशत बोनस शेयरपछिको मूल्य २ हजार ७६५ रुपैयाँ ४२ पैसा तोकेको छ ।