४१ लघुवित्तको सेयरमा नकारात्मक सर्किट, कुनले कति गुमाए ?

काठमाडौं । सेयर बजार राताम्य भएको छ । आज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तहरुले ग्रामिण भेगका गरिबहरुको आत्महत्यादेखि घरवास नै उजाडिन गुगेका त कतै गाउँ छोडेर भाग्नुसम्म परेको घटनाहरुले खुबै चर्चा पाएसँगै कम्पनीहरुको सेयरमा पहिरो गएको हो ।
लघुवित्त वित्तीय संस्थालाई ऋण लगानीमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै कर्जा लगानीदेखि कमाएको नाफाबाट लाभांश वितरणमा समेत कडाइ गरेको हो । एउटै ऋणीलाई डेढ दर्जनसम्म लघुवित्तले ऋण लगानी गर्दासमेत मौन बसेको राष्ट्र बैंकले अहिले आएर कर्जा लगानीमा कडाइ गरेको हो । नयाँ ऋणीलाई एउटा मात्रै लघुवित्तले ऋण लगानी गर्नसक्ने व्यवस्था गरेको राष्ट्र बैंकले पुराना ऋणीको ऋण भने नियमित तालिका अनुसार नै असुल गर्नसक्ने व्यवस्था गरेको छ । सो कारण पनि आज लघुवित्तका लगानीकर्ता निराश बनेका छन् ।
राष्ट्र बैंकले यसअघि एक वा एक भन्दा बढी लघुवित्तले एउटा ऋणीलाई विनाधितो ७ लाख र धितोमा १५ लाख रुपैयाँको कर्जा सीमा तोकेको थियो । लघुवित्तमा धितो राखेर कर्जा लिन पाउने राष्ट्र बैंकले व्यवस्था नै हटाएको छ । राष्ट्रबैंकले समस्यामा परेका ऋणी र उनीहरुले ऋण तिर्न नसक्नुको कारणबारे एक महिनाभित्र विवरण तयार पारेर पेश गर्न लघुवित्त संस्थाहरुलाई निर्देशन दिएको छ ।
लघुवित्तमा कडाई गरेसँगै सेयर बजारमा पहिरो गएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.७४ अकंले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार ४१ लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज छिमेकी लघुवित्त, डिप्रोक्स लघुवित्त, समिट लघुवित्त, स्वारोजगार लघुवित्त, नयाँ सारथी लघुवित्त, कालिका लघुवित्त, मिथिला लघुवित्तसहित ४१ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको हो ।




