सेयर बजारमा बीस महिनादेखिको ओरालो यात्रामा लाग्यो पूर्णबिराम, किन उल्टियो बजारको गति ?

काठमाडौं । पछिल्ला २० महिनादेखि लगातार घटिरहेको सेयर बजारमा अब उक्त वियरिस प्रबृत्तीको अन्त्य भएको देखिएको छ । बुधबार नेप्सेमा ९२.२२ अंक (४.९३ प्रतिशत)को बृद्धिसँगै नेप्से गएको २८ फागुनयताकै उच्च विन्दुमा पुगेको छ । केवल तीन दिनको बृद्धिले एक महिना लगाएर घटेको बजार सूचकलाई पुरै उल्ट्याइदिएको छ । नेप्सेमा बुधबार कारोबार रकम पनि नेप्सेमा १४ फागुनयताकै उच्च भयो । १ अर्ब ९७ करोड ६० लाख ७६ हजारभन्दा धेरैको कारोबार भएसँगै नेप्सेमा उल्लास फर्किएको देखिन्छ ।
पछिल्ला तीन दिनमा १ सय २५ अंक बढेको सेयर बजारमा लगानीकर्ताको सम्पत्ती पनि उसैगरी विस्तार भएको छ । तीन दिनमा नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब ९२ अर्ब ६८ करोडभन्दा धेरैले बृद्धि भएको छ । गत आइतबार २६ खर्ब ६३ अर्बमा झरेको नेप्सेको बजार पुँजीकरण मंगलबार २८ खर्ब ५६ अर्बको नजिक पुगेको छ । कारोबारमा आएका २१८ कम्पनीमध्ये सबैको सेयर मूल्य बढेका छन् । १६ वटा स्क्रीप्ट (सेयर, डिबेञ्चर तथा म्युचुअल फण्ड)को मूल्य ९ देखि १० प्रतिशत बढेका छन् ।
नेप्सेको यो उल्लेख्य बृद्धिका पछाडी ब्याजदर घटाउने बैंकरहरुको निर्णय प्रेरणादायी बनेको छ । बुधबार बिहानमात्रै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले निक्षेपको ब्याजदर एकल अंकमा झार्ने निर्णय गर्यो । नयाँ समझदारी अनुसार अहिले ११ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपमा अव वैशाख १ गतेदेखि ९ दशमलव ९–९ प्रतिशतमात्रै ब्याज पाइने छ ।
संस्थागत निक्षेपकर्ताले ७ दशमलव ९–९ प्रतिशतमात्रै ब्याज पाउने छन् । बचत खाताको ब्याज ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतमा झारिने भएको छ । त्यस्तै कल डिपोजिटको ब्याजदर २ दशमलव ७ प्रतिशत कायम हुने भएको छ । अर्थतन्त्रका अनेक सूचकहरुमा देखिएको सुधारले विस्तारै मनोबल बढाएका लगानीकर्तालाई ब्याजदर घट्ने समाचारले उत्साह भरिदिएको छ ।
ब्याजदरका साथै अर्थतन्त्रमा देखिएका अन्य संकेत र सरकार एवम् नियामकको चासोले पनि अब सेयर बजारले वियरिस बाटो यस पटकका लागि अन्त्य भएको मान्न सक्ने कयौं आधारहरु प्रस्तुत गरेका छन् । २०७८ भदौ ३ गते ३२ सय २७ अंकसम्म पुगेर ओरालो लागेपछि नेप्से गएको असार १० मा १८ सय ७ अंकभन्दा तल झरेको थियो ।
त्यसयता पनि १८ सय ५० अंकभन्दा तल झरेर थप तीन पटक टेवा पाएपछि नेप्सेमा फराकिलो ‘बाउन्स ब्याक’ देखिएको छ । पछिल्लो पटक गत आइतबार र सोमबार दुबै दिन नेप्सेले १८ सय ३३ अंक टेवा पाएको थियो । सोमबारदेखि उकालो लागेको बजारले तीन दिन नेप्से बढ्दा परिसूचक एक महिनायताकै उच्च अंकमा पुगेको छ ।
यस पटकको घट्दो बजारमा सबैभन्दा न्यून विन्दु छिचोलेको भोलिपल्ट अर्थात् गएको ११ असारमा झण्डै ९५ अंकको बृद्धिपछि नेप्सेमा पहिलो पटक यति फराकिलो बृद्धि देखिएको हो । सेयर बजारका यसअघिका प्रबृत्तीहरुलाई नियाल्ने हो भने पनि चार वटा न्यूनतम विन्दुहरु बनाइसकेपछि बजार उकालो लाग्ने गरेको देखिएका छन् । यस आधारमा पनि अब नेप्सेले बृद्धिको बाटो समात्ने संभावनालाई बल दिइरहेको छ ।
यो बृद्धिको दिगो पनामा अरु पनि आधारहरु छन् । राष्ट्र बैंकले मंगलबारमात्रै सार्वजनिक गरेको गत महिनाको आर्थिक परिदृष्यसम्बन्धि प्रतिवेदनले मुलुकको भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिजस्ता बाह्य क्षेत्रसँग सम्बन्धित थुप्रै सूचकहरुमा उल्लेख्य सुधार भएको उल्लेख छ ।
बाह्य अर्थतन्त्रको सम्भावित जोखिमलाई थेग्न सक्ने हालत तयार भइसकेकाले अब आन्तरिक अथर्ततन्त्र चलायमान बनाउन अग्रसर हुनुपर्ने भन्दै नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले केन्द्रिय बैंकमाथि दबाब दिइरहेका छन् । राष्ट्र बैंक स्वयम् पनि अब आन्तरिक अर्थतन्त्रलाई लयमा फर्काउन सहमत भएको संकेत मंगलबार नै गभर्नर महाप्रसाद अधिकारीले दिइसकेका छन् ।
नियामक र सरकारमात्रै होइन, बैंकरहरु पनि अब परिस्थिति सहज बनाउन तयार देखिएका छन् । संकटको लाभ उठाएर ब्याज बढाउँदै नाफाको थैलो भरिरहेका बैंकरहरु अब ऋणीले पैसा तिर्न नसक्ने अवस्था आएको भन्दै ब्याजदर घटाउने बाटोमा लागेका छन् । वैशाखबाट बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा झार्ने समझदारी बुधबारमात्रै गरेका छन् ।
बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिँदै गएको र कर्जाको माग रोकिएका कारण पनि बैंकहरु अब ब्याजदर घटाउन तयार देखिएका हुन् । यसअघि पनि दुई पटकसम्म निक्षेपको ब्याजदर घटिसकेका कारण अब यसले कर्जाको ब्याजदर घटाउन मद्दत दिने धेरैको अनुमान छ ।
अहिले नै ठूला ऋणीले ब्याजदर घटाउन दबाब दिन थालिसकेका छन् । अहिले बजारमा समष्टिगत माग ह्यात्तै घटेका कारण आयात वा उद्यममा पैसा लगाइहाल्न मुस्किल छ । राज्यले यस्ता संकटका बेला सेयर बजारलाई उचाल्ने गरी नीति बनाउने र यसमार्फत् अर्थतन्त्र चलायमान बनाउने बाटो लिन सक्छ ।
यसअघि पनि सरकार र राष्ट्र बैंकले कोभीडबाट थलिएको अर्थतन्त्रलाई लयमा फर्काउन सेयर बजारको खुबै प्रयोग गरेका थिए । त्यस बखत बढ्दो बजार भएकाले नीतिगत प्रबद्र्धनले लगानीकर्तालाई जोखिममा धकेल्ने जोखिम थियो । तर अहिले बजार न्यूनतम विन्दुमा झरेका कारण अब सेयर बढाउने नीति लिन राज्य संयन्त्रका लागि सहज र सुरक्षित हुने अवस्था छ ।
व्यवसायीहरु पनि अन्यत्र लगानीको संभावना खोज्नुभन्दा पहिले सेयर बजारबाटै आफ्नो सम्पत्ती बढाउन चाहन्छन् । यसै कारण बैंकले पनि नयाँ परियोजना खोजेर कर्जा दिनुभन्दा अघि सेयरबाटै पूँजीगत लाभ बढाएर वित्तीय प्रणालीमा तरलता बढाउने र वातावरणलाई सहज पार्ने कोसिस गर्छन् । यी सबै परिदृष्यले अब सेयर बजारले नयाँ उचाइको गन्तव्य पछ्याउने संभावना बलियो बनेको छ । तर अहिलेको स्तरबाट बजार सिधै अनवरत बृद्धि वा नयाँ कीर्तिमानी उचाइ चुम्न पुग्ने छैन ।
त्यहाँ पुग्नका लागि अर्को डेढ दुई वर्षको समय र थुप्रै यस्तै उतारचढावको सामना गर्नु पर्ने छ । यति चाहीँ पक्का हो की, अहिले अर्थतन्त्रको क्षितिजमा नदेखिएका नविन जोखिमहरु आएनन् भने अब सेयर बजार पुनः १८ सय अंकमा फर्किने संभावना अत्यन्त न्यून छ । यसले दीर्घकालिन लगानीकर्तालाई अब बजार पस्ने बेला भएको संकेत गर्छ ।