धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउन चार सदस्यीय अध्ययन समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा गैर आवासिय नेपालीहरुलाई भित्राउन अध्ययन समिति गरेको छ । बैशाख १९ गते बसेको संचालक बोर्डको बैठकले अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्न बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरेको हो ।
गैर आवासिय नेपालीलाई भित्र्याई पूँजी बजार मार्फत राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउन उपयुक्त हुने बिषयलाई मध्यनजर गर्दै धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासिय नेपालीलाई भित्र्याउन भएको हो । साथै, उनीहरूको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका समिति गठन गरेको हो ।
समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन ।
उक्त समितिले तीन महिना भित्र गैर आवासिय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्नेछ । यसका साथै, समितिले उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्नेछ ।
प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भइ मूल्य जोखिम कम हुने लगायतका सुधार पूँजी बजारमा हुने अपेक्षा बोर्डले गरेको छ ।