बजारमा ओरालो यात्राले पायो निरन्तरताः पर्ख र हेरको अवस्थामा लगानीकर्ता, कारोबार ५७ करोड

काठमाडौं । सेयर बजारमा ओरालो यात्राले निरन्तता पाएको छ । लगानीकर्ताको मनोबल उच्च हुन नसक्दा बजार ओरालो लागि रहेको छ । बजार ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिदैं गइरहेको छ । कुनै समय २३ अर्बसम्मको कारोबार हुने सेयर बजार केहि साता यता ५०।६० करोडमा सिमित भइरहेको छ ।
यता अर्थमन्त्रालय बजेटको तयारीमा रहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजारमा देखिएको उतारचढावलाई अगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । बढ्दो ब्याजदर, बढ्दो ब्यापार घाटा, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको जोखिमजस्ता चुनौती अर्थतन्त्रमा विद्यमान रहेका र आगामी बजेटमार्फत यी समस्याको समाधान गरिने बताएका छन् । तर, सधैका वर्ष झै यो वर्ष पनि भाषण र आश्वासन मै सिमित हुने डरले लगानीकर्ता डराइ रहेको अवस्था छ ।
त्यसका साथै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा बढेको थियो र अहिले लघुवित्तहरुको पनि नाफा घटदै गएको र खराब कर्जा बढ्दै गएको हुदाँ लगानीकर्ता त्रसित बनेको अवस्था छ । लगातार बजार ओरालो लाग्दा नियामक निकाश भने मुखर्दशक बनेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर १८३८.५९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुदाँ ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार १० उपसूचक राताम्य बनेका छन् । आज बैंकिङ समूहको ०.०५ प्रतिशत, जीवन बीमा समूहको ०.०२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज नेपाल टेलिकमको ३ करोड १५ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंक प्रोमोटर सेयरको २ करोड ७० लाख रुपैयाँ र शिवम सिमेन्टको १ करोड ८० हजार रुपैयाँको कारोबार भएको छ ।