लगानीकर्ताले प्रधानमन्त्रीलाई भने, ‘नयाँ स्टकको लाइसेन्स दिन ढिलासुस्ती नहोस्, १२ करोडको सीमा फिर्ता होस्’

काठमाडौं । सेयर बजारका लगानीकर्ताले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई १२ करोडको सीमा फिर्तादेखि नयाँ स्टक एक्सचेञ्जको कार्यान्यवनसम्म गरी छ बुँदे माग राखेका छन् ।
बुधवार नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ (नेपाल) र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न आग्रह गरेका हुन् । उनीहरुले १२ करोडसम्मको सेयर कर्जाको सिमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् ।
साथै, सेयर बजारका लगानीकर्ताले सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम राख्नु पर्ने माग प्रधानमन्त्री प्रचण्डसँग प्रस्तुत गरेका छन् ।
यस्ता छन् छ बुँदे माग
१. लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।
२. १२ करोड़ (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।
३. शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।
४. लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।
५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।
६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।