सेयर बजारमा झड्कोः ब्याजदर घट्ने संकेतले हौसिए लगानीकर्ता

काठमाडौं । सेयर बजारले लामो समयदेखि गति लिन सकेको थिएन । तर, मंगलबार भने एकाएक बजारमा उछाल आएको छ ।
बैंकहरुले ब्याजदर घटाउने संकेत गरेपछि लगानीकर्ता पनि उत्साहित छन् । यद्यपि, मौद्रिक नीतिमा खास लगानीकर्ताहरुको माग भने सम्वोधन भएको छैन । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समिक्षा गर्दै पुँजी बजारको सेयर संरचनात्मक सुधार भन्ने मात्रै उल्लेख गरेको थियो ।
सोमबार बैंकर्स संघले ब्याजदर अझै घट्दैं जाने अभिव्यक्ति दिएको थियो । पछिल्लो समय ब्याजदर निरन्तर घटिरहेको र आगामी असार महिनाबाट थप घट्दै जाने बैंकरहरुका अभिव्यक्ति दिएका थिए ।
बैंकहरुले ब्याजदर घट्ने संकेत गरेपछि नै सेयर बजार हरियाली बनेको सेयर लगानीकर्ता भरत राना भाटले बताए । उनले भने,– ‘पछिल्लो समय ब्याजदर निरन्तर घटाउने भनिएको छ । सोमबार नै बैंकर्स संघले पनि असारदेखि थप घट्ने बताएका थिए । ब्याजदर घट्ने आशाले लगानीकर्तामा उत्साहित बनेका छन् ।’
ब्याजदर घट्ने आशाले नै सेयर बजार बढेको उनको भनाई छ । ‘केहि दिन यता सामान्य अकंले बढी बजार आज भने बढेको छ । ब्याजदर घट्ने आश्वासन नै बजार बढ्नमा साथ दिएको छ’ -उनले भने ।
मंगलबार नेप्से परिसुचक ५१.३१ अकंले बढेर १९४२.६३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १३ उपसूचक मै हरियाली लागेको छ । आज बैंकिङ समूहको १.७३ प्रतिशत, विकास बैंक समूहको २.३६ प्रतिशत, फाइनान्स समूहको ३.०९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.४५ प्रतिशत र हाइड्रोपावर समूहको २.७३ प्रतिशतले सेयर मूल्य बढेको हो ।

आज शिवम सिमेन्टको १० करोड ५ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ९९ लाख रुपैयाँ र एनआइसी एशिया बैकको ७ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
