यी हुन् सेयर बजारलाई प्रभावित पार्ने कर नीतिः बजारमा ठूलो धक्का « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

यी हुन् सेयर बजारलाई प्रभावित पार्ने कर नीतिः बजारमा ठूलो धक्का



काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को संघीय बजेटले सेयर बजारलाई प्रभावित पार्ने केही नीति अघि सारेपछि बजारमा यसको नकारात्मक धक्का परेको छ । मंगलबार बजार खुल्दावित्तिकै सेयर बजार ओरालो लागेको हो । नेप्से ५३.१६ अकंले घटेर १८८८.६१ बिन्दुमा बन्द भएको छ ।

बजेटले यसअघि प्रिमियम मूल्यमा हकप्रद सेयर जारी गरेका र मर्जरमा जाँदा कमजोर संस्थालाई सस्तो भाउ दिएर नाफा बढाएका कम्पनीले पुरानो हिसाबमा कर दाखिला गर्नुपर्ने व्यवस्था भएको छ । यसले थुप्र्रै संस्थाको वित्तीय विवरण प्रभावित हुने छ । थोरै नाफा कमाउने र कम लाभांश बाँड्ने कतिपय कम्पनीको लाभांश क्षमता नै शुन्यमा झर्नसक्ने अवस्था देखिएको छ ।

प्रिमियम मूल्यमा एफपीओ निष्काशन गरेका कम्पनीहरुले उक्त प्रिमियम मूल्यबाट प्राप्त रकमलाई बोनस सेयरमार्फत् पूँजीकरण गर्ने गरेका थिए । यो अतिरिक्त आय भए पनि त्यसलाई पुनः वितरण गरेर पुँजीकरण गर्दा संस्थागत आयकर नलाग्ने व्यवस्था थियो ।

२१ वैशाख २०७८ मा मात्रै आन्तरिक राजस्व विभागको नीति विश्लेषण शाखाले ठूला करदाता कार्यालयलाई आयकर ऐनको विश्लेषण गरेर यही राय दिएको थियो । यसरी आम्दानीलाई पुनः वितरण गरेर कर छल्ने गरेको देखेपछि महालेखा परीक्षकको कार्यालयले उक्त सेयर प्रिमियमबाट प्राप्त रकमलाई आयमा बाँधेर कर लगाउन सुझाउँदै आएको थियो ।

यो वर्ष सरकारले आर्थिक विधेयकमा यो विषय समावेश गरेको छ । विगतमा आयकर नलाग्ने सुविधा पाएपछि प्रिमियम मूल्यमा आइपीओ र एफपीओ जारी गर्ने परिपाटी बढेको थियो । आन्तरिक राजस्व विभागको यही ‘व्याख्या’लाई टेकेर आयकर छुट पाउने भएपछि अनेक तरिकाले नाफा निकालेर महँगो भाउमा एफपीओ ल्याउने प्रयास बढ्न थालेको थियो ।

तर नयाँ विधेयकले यसअघि कुनै पनि कम्पनीले त्यसरी बोनस सेयर बाँडेर आयकर नतिरेको भए सबै कर तिर्न भनेको छ । आगामी मंसिर मसान्तभित्र कर तिरेमा शुल्क तथा ब्याज मिनाहा हुने भनेपछि संस्थागत आयकरमा ठूलो रकम चुकाउनु पर्ने अवस्था आएको छ ।

यसबाट यसअघि प्रिमियम मूल्यमा एफपीओ ल्याउने नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, स्ट्याण्डर्डचार्टर्ड बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकजस्ता कम्पनीले मंसिरसम्म ठूलो रकम करबापत बुझाउनु पर्ने भएको छ ।

बार्गेन पर्चेज गेनमा पनि कर

यसबाहेक मर्जर वा एक्वीजिशन गर्दा बार्गेन पर्चेज गेनमा पनि कर लाग्ने भनिएको छ । दुई वा दुईभन्दा बढी कम्पनीहरु आपसमा मर्जर वा प्राप्ति गर्दा कमजोर संस्थालाई स्वाप रेसियो कम दिएर कम्पनीहरुले यसप्रकारको आय देखाउने गरेका थिए ।

हामीले पसलमा सामान किन्दा वा ठेलामा तरकारी किन्दा बार्गेनिङ (सौदाबाजी) गरेजस्तै कम्पनीहरु मर्जर वा एक्वीजिशनमा पनि स्वाप रेसियोमा बार्गेनिङ हुन्छ । तर सम्पत्ती तथा दायित्वको मूल्यांक (डीडीए)मा देखिन आउने रकम नै उक्त संस्थाके खुद सम्पत्ती मानेर हिसाब गरिन्छ ।

उदाहरणका लागि २० लाख मूल्यको जग्गा छ, तर त्यो जग्गालाई अर्को कम्पनीले १७ लाखमा किन्यो भने जग्गाको मूल्य चाहीँ २० लाख नै जोडिन्छ । तिरेको पैसा १७ लाख भएपछि किन्ने कम्पनीले ३ लाख रुपैयाँ नाफा भएको हिसाब देखाउँछ र त्यो रकम बराबरको लाभांश बाँड्छ ।

यसरी नाफा देखिएको रकममा अहिलेसम्म कर लाग्दैन थियो । त्यसैले ग्लोबल आईएमई लगायत संस्थाले कमजोर हालतका धेरै संस्था मर्जर र प्राप्ति गरेर व्यवसायिक आकार ठूलो पारेका थिए ।

तर यो व्यवस्थाले अब वास्तविक मूल्यभन्दा सस्तोमा अर्काको कम्पनी हत्याएर नाफा कमाउनेहरुमाथि कर लगाउने भएको छ । त्यो पनि, यसअघिका सबै मर्जर र प्राप्तिमा भएको कारोबारको हिसाब निकालेर कर लाग्ने भएपछि ठूला बैंकहरु आत्तिएका छन् ।

सेयर र घरजग्गा कारोबारी पनि फन्दामा

प्राकृतिक व्यक्तिले नियमित व्यवसायकै रुपमा धितोपत्र, जग्गा वा घरजग्गाको कारोबार गरेको छ भने त्यस्तो कारोबारको आय विवरण र कर दाखिला गर्नुपर्ने प्रावधान अघि सारिएको छ । आर्थिक वर्ष २०७६/७७ लाई आधार वर्ष मानेर त्यसयताको यस खाले कारोबारमा आयकर तिर्नुपर्ने भएको छ ।

हालका लागि आयकर ऐनले तोकेको आधामात्रै कर तिर्न भनिएको छ । आगामी चैत मसान्तसम्म यस खाले हिसाब बुझाएर कर तिर्नुपर्ने व्यवस्था भएको छ । अहिले देशभर हजारौं मानिसहरु सेयर बजार र घरजग्गा कारोबारबाट ठूलो रकम आम्दानी गरिरहेका छन् । पेशा नै सेयर किनबेच गर्ने वा घरजग्गा किनबेच गर्ने र गराउने भएका मानिसको संख्या नेपालमा ठूलो छ ।

सेयर किनबेच गर्ने व्यक्तिले पुँजीगत लाभकरबाहेक केही तिर्नु पर्दैन । त्यसले गर्दा बढ्दो बजारमा लगानी गरेर अर्बौं रकम आय गर्नेको संख्या ठूलो छ । उनीहरुको कारोबार पनि स्पष्टसँग हेर्न सकिने अवस्थामा छ ।

अब नियमित सेयर कारोबार गरेर लाखौं, करोडौं कमाएकाहरुले २०७६ सालदेखिको कारोबारमा भएको आयमा कर तिर्नुपर्ने भएको छ । यसले ठूलो संख्यामा लगानीकर्तालाई प्रभावित पार्न सक्छ ।

घरजग्गाको कारोबारमा भने आफैं किनबेच गर्ने बाहेक मध्येस्तकर्ताको भूमिकामा बस्नेहरुले ठूलो आर्जन गरेका छन् । त्यसलाई यो व्यवस्थाले कसरी बाँध्छ भन्ने स्पष्ट छैन । तर सेयर बजारमा नियमित कारोबार गरेको देखिने र कारोबारमा नाफा नोक्सान भएको पनि देखिने कारण कुनै पनि बेला जो कोहीमाथि राजस्वको त्रास बढ्ने भएको छ । यस्ता कुराले लगानीकर्ता प्रभावित भएका छन् ।

फलस्वरुप यो समाचार तयार पार्दासम्म इन्ट्रा–डे ब्यापारमा नेप्से परिसूचक ५१ अंकसम्म घटिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्