सेयर बजारमा उछालः चार महिनापछि नेप्से परिसूचक २१ सय बिन्दु माथि, साढे ६ अर्बको कारोबार « Arthapath.com
७ असार २०८२, शनिबार

सेयर बजारमा उछालः चार महिनापछि नेप्से परिसूचक २१ सय बिन्दु माथि, साढे ६ अर्बको कारोबार



काठमाडौं । गत साताको पहिलो दिन र अन्तिम दिन सेयर बजारमा झिनो सुधार देखियो । बीचको तीन कारोबारको दिन भने बजार राताम्य भयो । यो साताको सुरुवात मै सेयर बजार एकाएक आकाशिएको छ ।

आज नेप्से परिसूचक चार महिना यता कै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २११७.७३ बिन्दुमा पुगेको छ । यस अघि माघ २९ गते परिसूचक २११७.८४ बिन्दुमा पुगेको छ ।

कारोबार रकम पनि पाँच महिना यता कै उच्च हुन पुगेको छ । कारोबार आज साढे ६ अर्ब पुगेको छ । यस अघि पुष २६ गते ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।

अहिले लगानीकर्ताका मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । लगानीकर्ताले मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेश गरेका छन् । लगानीकर्ताले उठाउदैं आएका माग सम्बोधन हुने गर्भनरको आश्वासनले उत्साह समेत छाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले केहि दिन बजारमा सुधार आएसँगै बजारमा लगानीकर्ता झुम्मिएका हुन् । तर एकथरी लगानीकर्ता भने चलखेलको संकेत भएको अनुमान गरी रहेका छन् ।

नेप्से ६२.२१ अकंले बढेर २११७.७३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको १.०६ प्रतिशत, विकास बैंक समूहको ५.७३ प्रतिशत, फाइनान्स समूहको ५.७३ प्रतिशत लगायत १३ वटै उपसूचकमा हरियाली आएको छ ।

आज शिवम सिमेन्टको ४९ करोड ९० लाख र सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्