नेप्से परिसूचक पाँच महिना यता कै उच्च, बजार ५६ अकंले बढ्यो

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएकोछ । हिजो ११ अकंले बढेको बजार आज हरियाली भएको हो ।
नेप्से परिसूचक पाँच महिना यता कै उच्च बन्न पुगेको छ । नेप्से परिसूचक आज २१८६.३६ बिन्दुमा बन्द भएको छ । यस अघि पुष २६ गते नेप्से परिसूचक २१९०.४२ बिन्दुमा बन्द भएको थियो ।
उच्च तरलता, न्यून ब्याजदर र कम्पनीको पूँजी वृद्धि योजनाले नै बजारमा उत्साह आएको छ । पछिल्लो समय बैकिङ प्रणालीमा देखिएको उच्च तरलता नै नेप्से परिसूचकलाई बढाउन सहयोग गरेको देखिएको छ ।
बैंकहरुले अहिले विभिन्न निक्षेप योजनामा ५ देखि १० प्रतिशतसम्म ब्याज दिइरहेका छन् तर अहिले अन्तर बैंक ब्याज दर नै २.६५ मा झरिसकेको छ । सोहि कारणले पनि बजारलाई बढाउन सहयोग गरेको छ ।
नेप्से ५६.९४ अकंले बढेको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा उच्च सुधार आउँदा कारोबार ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचकमा हरियाली आएको छ भने तीन उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको ३.९३ प्रतिशत, विकास बैंक समूहको १.३६ प्रतिशत, फाइनान्स समूहको ४.४४ प्रतिशत सेयर मूल्यले बढेको छ ।

आज स्वावलम्बन लघुवित्तको २५ करोड १२ लाख र शिवम सिमेन्टको २२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
