आर्थिक वर्ष २०७९/८०: यस्तो रह्यो सेयर बजारको ‘उकाली ओराली’, हेर्नुस्- सम्पूर्ण विश्लेषण « Arthapath.com
३१ असार २०८०, आईतवार

आर्थिक वर्ष २०७९/८०: यस्तो रह्यो सेयर बजारको ‘उकाली ओराली’, हेर्नुस्- सम्पूर्ण विश्लेषण



काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० सुरुहुनु अघि अर्थात् पोहोर असार ३१ गते नेप्से परिसूचक २ हजार ९ अंकमा थियो । यो आर्थिक वर्ष सकिँदा सेयर बजार सूचक २ हजार ९७ अंकमा रोकिएको छ । यसरी वर्षभरीमा केवल ८८ अंकको बृद्धि नेप्सेले हासिल गरेको छ ।

यो वर्षभर नेप्से लगभग १८ सयदेखि २२ सय अंकबीचको साइडवेज मुभमेण्टमै देखियो । वर्षभरीको सूचकलाई औसतमा मापन गर्ने हो भने नेप्सेले १९८३ अंकको औसत मानक तयार पारेको छ । यो आर्थिक वर्ष नेप्से बढीमा २२७७.६१ अंकसम्म पुग्यो भने न्यूतमक विन्दुको रुपमा १८०७.५३ अंकसम्म झर्यो । यसरी वर्षभरीमा नेप्सेको राजमार्गको फैलावट ४७०.०८ अंकको रहन पुग्यो ।

एक वर्षमा ३६५ दिनहुन्छ । वितेको एक आर्थिक वर्षमा नेप्सेमा २३६ दिनमात्रै सेयर किनबेच भयो । वर्षमा १२९ दिन सेयर बजार बन्द रह्यो । खुलेका दिनमा पनि नेप्से बढ्नेभन्दा घट्नमै बढी समय खर्च भयो । वर्षको १०६ नेप्से ‘हरियो’ भयो भने अरु १३० दिन नेप्सेमा ‘रातो’ रङ्ग पोतियो ।

वितेको एक वर्षमा सर्वाधिक बढ्दा सेयर बजारले एकै दिन ९२.२२ अंकसम्म बढेको र घट्दा ६०.७७ अंकसम्म घटेको रेकर्ड बनाएको छ । घट्नेभन्दा बढ्ने रफ्तार बढी भएकै कारण थोरै दिन ‘हरियो’ हुँदा समेत नेप्सेले पोहोरभन्दा ८६ अंकको साँघुरो भए पनि बृद्धि हासिल गरेको छ ।

१ साउन २०७९ देखि ३१ असार २०८० सम्मको नेप्से परिसूचक

नेप्सेमा भएको बढोत्तरीसँगै सेयर बजारको पूँजीकरण पनि वितेको एक वर्षमा २ खर्ब ११ अर्बले बढेको छ । पोहोर साउन १ मा २८ खर्ब ७२ अर्बको सेयर बजार अहिले ३० खर्ब ८२ अर्ब ५२ करोड पुगेको छ । यो साल सर्वाधिक कारोबार भएको दिन ७ अर्ब ३८ करोड ८७ लाखभन्दा बढीको ब्यापार भएको थियो । सबैभन्दा कम ब्यापार हुँदा ४१ करोड ८३ लाख ८५ हजारभन्दा पनि कममै रोकिएको थियो ।

आर्थिक वर्षको अन्त्यतिर दैनिक २ देखि ६ अर्बको कारोबार भएरहेको भए पनि वर्षभरीको औसत हेर्ने हो भने दैनिक १ अर्ब ९० करोड ६१ लाखको कारोबार भएको देखिन्छ । दैनिक कारोबार संख्यालाई पनि हामीले त्यसैगरी हेर्न सकिन्छ । सर्वाधिक कारोबार हुँदा एकै दिनमा १ लाख ६ हजार १० पटक नेप्सेमा धितोपत्रको किनबेच भएको थियो । तर कारोबार सुस्ताउँदाको अवस्थामा यही संख्या ११ हजार ६६३ मा झरेको थियो ।

नयाँ आर्थिक वर्षमा आशाका कीरण

यसरी वर्षभरी नेप्सेले साँघुरो घेराभित्रै ‘साइड–वेज मुभमेण्ट’मा विताएको छ । अव नयाँ आर्थिक वर्षको सुरुआत भएको छ । मुलुकको बाह्य वित्तीय सन्तुलन ठिकठाक हालतमा पुगेको छ । तर आन्तरिक अर्थतन्त्र तहसनहस छ । लगानी बढ्न सकेको छैन । बेरोजगारी चरमचुलीमा पुगेको छ । देशमा हरेक वर्ष उत्पादन हुने नयाँ युवा जनशक्तिको दोब्बर संख्यामा नेपालीले देश छाडिरहेका छन् ।

रोजगारी र बसाईँसराईका अनेक अभिलाषामा नेपालीहरु देश छाडेर बाहिरिएका छन् । यसले मुलुकभित्रको समष्टिगत मागमा ठूलो ह्रास आएको छ । वित्तीय प्रणालीको पैसा घरजग्गामा फसेको छ । घरजग्गाको कारोबारमा लामो समयदेखि मन्दी छ । विदेशी मुद्रा जोगाउन चालिएको आयात प्रतिबन्ध र घरजग्गा कारोबारको मन्दीले निजी तथा सार्वजनिक दुबै क्षेत्रमा भुक्तानीको चक्र रोकिएको छ ।

यावत घरेलु समस्याका बाबजुत बैंक तथा वित्तीय प्रणालीमा पैसा जम्मा हुने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत साता नै देशभरका बैंक तथा वित्तीय संस्थामा पौने ५ खर्ब निक्षेप थुप्रिएको छ । असार मसान्तमा सरकारले भुक्तानी दिने चेकको रकम जम्मा हुँदा यो रकम अझै माथि पुग्ने निश्चित छ । यही कारण बैंकहरुले १७ महिनादेखि निक्षेपको ब्याजदरमा लगाउँदै आएको ‘कार्टेलिङ’ खारेज गरेका छन् ।

मिलेमतोमा ब्याजदर निर्धारण गर्ने ‘भद्र सहमति’ तोर्डिएसँगै बैंकहरुले आफूखुसि ब्याजदर प्रकाशन गर्न थालेका छन् । बाणिज्य बैंकहरुकै ब्याजदर प्रबृत्ती हेर्ने हो भने कुनै बैंकले साउनमा पनि मुद्दति निक्षेपमा ११ प्रतिशतकै हाराहारीसम्म ब्याज दिने भएका छन् भने कतिपय बैंकले उच्चतम ब्याजदर नै ९ प्रतिशतभन्दा कम दिने घोषणा गरेका छन् ।

यसले एकातिर ब्याजदरको प्रतिस्पर्धा सुरु भएको छ भने अर्कातिर लागत कम हुने भएपछि कर्जाको ब्याजदर घट्ने संभावना बढेको छ । तत्कालै लगानी गर्न कुनै नयाँ क्षेत्र तयार भइहाल्ने अवस्था अहिले छैन । यस्तो समयमा सेयर बजार नै सबैभन्दा उत्तम विकिल्पको रुपमा देखिन सक्ने संकेत पर्याप्त छन् ।

एकातिर बजार लामो समयदेखि न्यूनतम विन्दु बनाएर बस्नु र त्यसै बेला ब्याजदर तथा कर्जाको सरलिकरण हुनुले सेयर बजारलाई नयाँ आर्थिक वर्षमा उकास्न मद्दत मिल्ने आशा गर्न सकिन्छ । अब सुरु हुने आर्थिक वर्ष २०८०/८१ ले नेपाली सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने आधार तयार गर्नसक्ने प्रसस्त संभावनाहरु क्षितिजमा देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्