एक दिन पनि टिकेन बजारको सुधार, परिसूचक २ हजार बिन्दुमा झर्यो, निरन्तर खुम्चिदैं कारोबार « Arthapath.com
६ असार २०८२, शुक्रबार

एक दिन पनि टिकेन बजारको सुधार, परिसूचक २ हजार बिन्दुमा झर्यो, निरन्तर खुम्चिदैं कारोबार



काठमाडौं । पाँच दिन ओरालो लागेको बजार हिजो भने एकल अंकले सुधार आयो । हिजोको सुधार एक दिन पनि नटिक्दैं बजार फेरी आज राताम्य भएको छ ।

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएका यता लगानीकर्ता निराश छन् । कारोबार रकम समेत निरन्तर खुम्चि रहेको छ । गत आइतबार मौद्रिक नीति आउनुअघि बजार एकै दिन ६३ अंक बढेको थियो । सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जालाई सहजिकरण हुने आशामा लगानीकर्ताले सेयरको माग बढाएका थिए । तर बजार बन्द भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा भएका केही व्यवस्थाको थप ब्याख्या गरेर भावि निर्देशनबारे पूर्व जानकारी गराए । उनले २५ लाखसम्मको सेयर कर्जामा १०० प्रतिशतमात्रै जोखिम भार राख्नुपर्ने पुरानो व्यवस्थालाई ५० लाखसम्मको सीमामा विस्तार गर्न खोजिएको बताए । यसले करोडौं, अर्बैं लगानी गर्ने ठूला लगानीकर्ता बेखुस भए र बजार ओरालो लाग्न थाल्यो ।

पाँच दिनको ओरालो यात्रा पनि हिजो सामान्य अंकले बढेको बजारमा फेरी आज राताम्य भएको छ । मौद्रिक नीतिले सेयर कर्जाको जोखिमभार घटाउने र ‘लोन टु भ्याल्यू रेसियो’ पनि खुकुलो पार्ने अपेक्षा धेरैले गरेका थिए । तर त्यसो भएन र राष्ट्र बैंकले ५० लाखसम्मको सेयर कर्जाका लागिमात्रै जोखिमभार घटाउने भन्यो र ‘लोन टु भ्याल्यू रेसियो’ पनि स्थिर राख्यो । फलस्वरुप बजार निरन्तर ओरालो लागि रहेको छ ।

साताको तेस्रो दिन बजार २८.५९ अकंले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ । आज २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १२ उपसूचक राताम्य भएका छन् । आज म्युचुअल फण्ड समूहको सेयर मूल्य मात्र ०.३५ प्रतिशतले बढेको छ । बैंकिङ समूहको ०.९३ प्रतिशत, विकास बैक समूहको १.९३ प्रतिशत, फाइनान्स समूहको २.४३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ७४ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्