लाभांश सिजनको मुख मै लगानीकर्ता निराश, कहिले फर्किएला बजारमा रौनक ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

लाभांश सिजनको मुख मै लगानीकर्ता निराश, कहिले फर्किएला बजारमा रौनक ?



काठमाडौं । बजार फेरी राताम्य भएको छ । गत साताको अन्तिमका दुई दिन एकल अंकले बढेको बजार यो साताको सुरुवात मै भारी गिरावट आएको हो ।

वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक रहेको बेला बजारले अझै गति लिन सकेको छैन ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई आंशिक लचिलो नीति लिएको छ । यसअघि २५ लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशत रहेकामा अब ५० लाखसम्ममा जोखिमभार १०० प्रतिशत बनाइएको छ । यो नीति लगानीकर्ताको माग बमोजिम नभएपनि केहि लचिलो भने पक्कै भएको हो । तर, करोडौं रुपैयाँ कर्जा लिएर लगानी गर्नेले भने खासै राहत पाएका छैनन् । यसकारण पनि बजारको गति लिन नसकेको जानकारहरुको भनाइ रहेको छ । बजार बढ्ने र घट्नमा लगानीकर्ताको मनोबल पनि उत्तिकै भुमिका राख्छ । मौद्रिक नीतिबाट मनोबल कमजोर भएका लगानीकर्ता आजै खुसी हुन सकेका छैनन् । सोहि कारण पनि कारोबार रकम पनि निरन्तर खुम्चिदै गएको अवस्था छ ।

यता, केहि लगानीकर्ता भने बैंक तथा वित्तीय संस्थाको वित्तीय रिपोर्ट धमाधम सार्वजनिक भईरहेको छ । यद्यपि, वित्तीय रिपोर्टसंगै लगानीकर्ताहरु लाभांशको पर्खाइमा रहेको बताउछन् । ‘ठूलो लगानीकर्ताको चलखेल हो । ठूला लगानीकर्ताले लाभांश प्राप्त गर्नेका लागि सेयर बजार घटाउन र सेयर किन्ने मौका खोजि रहेका देखिन्छन्’– एक जानकारले बताए ।

वाणिज्य बैंक तथा विकास बैंकहरुले वित्तीय रिपोर्ट सार्वजनिक गर्दा लाभांश क्षमता समग्रमा बलियो बनाएको देखिन्छ । वाणिज्य बैंकको नाफा समेत २४ प्रतिशतले बढेको छ । यो बेला लगानीकर्ताले सेयर होल्ड गरेर लाभांश खाने मौका समेत कुरी रहेका छन् । वित्तीय अवस्था राम्रो रहेका र लाभांश क्षमता बलियो रहेका कम्पनीका लगानी गर्ने उपयुक्त वातावरण रहेको जानकारहरुको भनाइ रहेको छ ।

बजार आज ३८.३७ अकंले घटेको छ । परिसूचक समेत २०५१.४७ बिन्दुमा बन्द भएको हो । आइतबार २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.७० प्रतिशत, विकास बैंक समूहको २.५० प्रतिशत, फाइनान्स समूहको ३.४३ प्रतिशत र होटल तथा पर्यटन समूहको ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ।

आज सानिमा बैंकको १२ करोड ६९ लाख रुपैयाँ र एभरेष्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्