नयाँ स्टक एक्सचेञ्ज आवश्यक नै हो, ब्रोकरलाई मारमा पारेर कमिशन पुनरावलोकन हुँदैनः हमाल « Arthapath.com
५ असार २०८२, बिहीबार

नयाँ स्टक एक्सचेञ्ज आवश्यक नै हो, ब्रोकरलाई मारमा पारेर कमिशन पुनरावलोकन हुँदैनः हमाल



काठमाडौं । नेपाली धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजीबजार सुधारका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दीमा पूँजीबजारः सम्भावना र चुनौती सम्वन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

नेपाली पूँजीबजारलाई अहिले अगाडि बढाउन एक विश्व स्तरको एक्सचेन्ज आउनु पर्ने उनको भनाइ रहेको थियो । “नयाँ स्टक एक्सचेञ्ज ल्याउन असफल भएका छौं, बजारमा प्रतिस्पर्धा गर्न नयाँ स्टक ल्याउन सबै प्रक्रिया पुर्याएर तीन कम्पनीको आवेदन परे पनि ल्याउन असफल भयौं” हमालले भने, “विश्व स्तरको स्टक नेपाली बजारलाई आवश्यक छ । सरकारी एक्सचेन्ज सकाउने हाम्रो कुनै मनसाय होइन ।”

केहि महिना अर्थतन्त्र भयानक अबस्था पुगेको भनेर भ्रम फैलीएको हमाले बताए । “नेपालको अर्थतन्त्र सहि बाटोमा छ भयानक अवस्था छैन रिकोभरि भैरहेको छ, नेपालि समाज उत्ताउलो हुदाँ भ्रम फैलिएको हो हमालले भने ।”

बोर्डको शुल्क घटेपछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइने हमालको भनाइ रहेको थियो । उनले भने, “ब्रोकर कम्पनी पुँजी बजारका मुटु हुन्, ब्रोकर कम्पनीलाई मारमा पारेर कमिशन पुनरावलोकन हुँदैन ।” अध्यक्ष हमालले ब्रोकरलाई समस्यामा पारेर कमिसन घटाउने निर्णय नगर्ने पनि स्पष्ट पारे । “ब्रोकरको कमिसन घटाउँने प्रस्ताव सञ्चालक समितिमा लैजाँदा धितोपत्र बोर्डको कमिसन पनि घटाउने प्रस्ताव सँगै जान्छ,” उनले भने, “ब्रोकर सस्टेन नहुने गरी कमीसन घटाउने पक्षमा छैनौं । ब्रोकर कमीसन घटाउँदा सँगै ब्रोकरलाई सुविधा थप गर्ने प्रस्ताव पनि लैजान्छौं ।”

प्रिमियम मूल्यमा आईपीओ जारी सम्बन्धी बोर्डको आइक्यानको उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको बताए । देशको माटो सुहाउँदो नयाँ प्रणाली ल्याउदै छौ । अध्यक्ष हमालले स्वतन्त्र सञ्चालकहरुको रोष्टर पनि धितोपत्र बोर्डले नै बनाउने पनि बताए । “हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकको योग्यता तोक्दै छौं, रोष्टर नै बनाउँदै छौं । स्वतन्त्र संचालकले स्वतन्त्र लेखा परिक्षकलाई नै रिपोर्ट बुझाउने ब्यवस्था गर्दैछौं,” अध्यक्ष हमालले भने । यसका लागि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) सँग उक्त विषयमा छलफल समेत भइसकेको पनि अध्यक्ष हमालले बताए ।

उनले ‘इन्ट्रा डे ट्रेडिङ’ पनि सञ्चालन हुने जानकारी दिए । “धितोपत्र बजारको रिर्फम गर्ने आँट र विज्ञता मेरो नेतृत्वको सेबोन टीमसँग छ,” उनले भने, “समग्र अर्थतन्त्रमा देखिएको निराशाले सेयर बजारमा पनि कही कन्फिडेन्टमा कमी देखिएको छ । तर, अर्थतन्त्रका सुचक खराब अवस्थामा नभएको र अझै सुधारउन्मुख भएको छ । सबै सकारात्मक हुनुपर्छ । कन्फीडेन्टको कमी छ, त्यसलाई बढाउनुपर्छ ।”

अध्यक्ष हमालले सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरावलोकन गर्ने संकेत गरे । १० कित्ते नीतिले गर्दा धितोपत्र बजारको विस्तार भएको भन्दै त्यसलाई अवसरको रुपमा लिनुपर्ने र त्यसमा रहेको केही कमजोर पक्ष सुधार गर्ने पक्षमा सेबोन रहेको अध्यक्ष हमालले बताए । “बोर्डले समग्र बजार र अवस्थाका विश्लेषण र अध्ययन गरेर सुझबुझ पुर्ण निर्णय गर्छ,” उनले भने, “१० कित्ते नीति पुनरावलोकन गर्नु पर्नेछ । त्यसबारे अध्ययन गर्नेछौं ।”

अध्यक्ष हमालले बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको बताए । उनले सुचिकृत कम्पनीको गभर्नेन्स, स्ट्यान्डर्ड र प्रोटोकलमा पनि सुधार ल्याउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्