बाँडफाँटको ३७ दिनसम्म सूचीकृत भएन अप्पर लोहोरेको आइपीओ, अब कहिले हुन्छ ?
काठमाडौं । ३७ दिनसम्म अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत हुन सकेको छैन । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ गत साउन २९ गते बाँडफाँट गरेको थियो ।
तर, आइपीओ बाँडफाँट गरेको महिना भन्दा बढी समय पुगि सक्दा अझै सूचीकृत हुन सकेको छैन । यता क्यापिटलले भने यसै साता भित्र सूचीकृतको काम हुने जनाएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन रायमाझीले सम्पुर्ण कागजात नेपाल धितोपत्र बोर्ड पठाइ सकेको र यसै साता भित्र कम्पनीको आइपीओ सूचीकृत हुने बताए ।
कम्पनीको साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । जसमा १ लाख ९५ हजार ३२७ जनाले १०।१० कित्ताका दरले सेयर पाएका हुन् । साथै, सोहि मध्यका ९ जनाले थप १।१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।
साथै, १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ३९ हजार ७६५ कित्ता कर्मचारी र ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषमा निष्कासन गरेको आइपीओ सूचीकृत हुनेछ ।