ओरालो यात्रामा लाग्यो ब्रेक, बजार दोहोरो अकंले बढ्यो, कारोबार समेत २ अर्ब माथि

काठमाडौं । दुई दिन ओरालो यात्रामा ब्रेक लागेको छ । बजार आज दोहोरो अकंले बढेको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले गर्भनर महाप्रसाद अधिकारीसँग भेट गर्दै सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने भनेको थिए । गर्भनर समेत यस कुरामा सकरात्मक रहेको हमालको भनाई पछि बजार सुधार तिर जाने आशामा लगानीकर्ता रहेका छन् । अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्ने लगायतका विषयमा गभर्नरले ग्रीन सिग्नल दिएको समाचार समेत बाहिरएका छन् ।
आम लगानीकर्ताले १२ करोडको क्याप र १५० प्रतिशतको जोखिमभारलाई सेयर बजारको बाधक नीतिका रुपमा लिंदै आएका छन् । लगानीकर्ताले सेयर बजारको दीगो सुधारका लागि धितो कर्जामा जेखिमभार १०० प्रतिशतमात्र निर्धारण गरिनुपर्ने बताउँदै आएका छन् । सो सम्बन्धी सकरात्मक संकेत पाएसँगै बजार नयाँ उचाइमा पुग्ने आशा लगानीकर्ताले गरेका छन् ।
निरन्तर बजार खुम्चि रहदाँ मनोबल कमजोर भएका लगानीकर्ता बिस्तारै लगानी गर्ने थाल्ने बातावरण बन्दै गएको देखिन्छ । यता, धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन गृहकार्य थालेको छ । यसको सकारात्मक प्रभाव पनि बजारमा पर्ने देखिन्छ ।
बजार १८.४५ अकंले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ । मंगलबार २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार होटल तथा पर्यटन समूहको सेयर मूल्य घटेको छ । उक्त सेयर मूल्य ०.१८ प्रतिशतले घटेको हो । अन्य १२ उपसूचक भने हरियाली भएका छन् ।

आज एनआइसी एशिया बैंकको ८ करोड ३४ लाख र सन नेपाल लाइफको ७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
